विराटनगर । लगातारको निषेधाज्ञाले गर्दा समस्यामा परेका विराटनगरका विपन्न परिवारलाई फुडबैंक संचालन गरी खाद्यान्न वितरण गर्न थालिएको छ ।
दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवारलाई शिखर अर्गनाइजेसनले विराटनगर ५ बरगाछी चौकमा फुड बैंक संचालन गरी आइतबारबाट खाद्यान्न वितरण गर्न शुरु गरेको हो ।
दैनिक दुई सय जनलाई खाद्यान्न वितरण गर्ने योजनासाथ शिखर अर्गनाइजेसनअन्तर्गतको नटराज एग्रो प्रा.लिका म्यानेजर सीताराम बर्तौलाका अनुसार ‘हुनेले दिने, नहुनेले लिएर जाने’ नारासहित फुड बैंक सञ्चालन गरेको हो ।
सता दिनसम्म बिहान ७ बजेदेखि १० बजेसम्म एक जनालाई दुई किलो चामल, आधा किलो दाल र एक किलो नुन दिने प्रबन्ध मिलाइएको बर्तौलाले सुनाए । शिखर अर्गनाइजेसनअन्तर्गतका नटराज एग्रो प्रा.लि, तुलसी बहुमुखी सहकारी संस्था, गोर्खा टी एण्ड कफी, तुुलसी इण्डस्ट्रिज प्रा.लि र शिव शिखर एग्रो प्रा.लिले फुड बैंक संचालन गर्न आर्थिक सहयोग उपलब्ध गराएका हुन ।
अर्गनाइजेसनका जनसम्पर्क अधिकृत राम लिम्बूले भने,“विशुद्ध मानवीय र सहयोगको भावले फुड बैंक संचालन गरेका हौं ।”