धरान/ कोरोनाको दोश्रो लहरसँगै सरकारले जारी गरेको निषेधाज्ञाका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ठुला उद्योगले आफ्नो उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । ती उद्योगले पछिल्लो समय क्षमताको ४० प्रतिशतमात्र उत्पादन गरिरहेका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा लम्बिँदै जाँदा औद्योगिक करिडोर विराटनगर,दुहबी र खनारमा सञ्चालित सिमेन्ट,स्टिल,वायर्स लगायतका उद्योग बन्द गर्ने मनिस्थितिमा सम्बन्धित उद्योगी पुगेका छन् ।
निषेधाज्ञा लम्बिदै जाँदा खाध्यान्न,स्वास्थ्य सामग्री उत्पादन गर्ने बाहेकका एक सयभन्दा बढी साना तथा मझौला उद्योग बन्द हुदा झण्डै १५ हजार मजदुरले रोजगार गुमाउनु परेको छ ।
अहिले विशेषगरी सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा खाद्यान्न,स्वास्थ्य सामग्री लगायत अत्यावश्यक वस्तु तथा सेवाका उद्योगमात्र सञ्चालनमा छन् । ती उद्योग पनि उत्पादित सामाग्री बजारमा पु¥याउन समस्या झेल्दै आएका छन् ।
औद्योगिक क्षेत्रमा रहेका करिब साढे ५ सय उद्योगमध्ये झण्डै १ सय उद्योगले अति आवश्यक मालवस्तु उत्पादन गर्दै आएका छन् । तर,उत्पादित वस्तुको सप्लाइमा समस्या,कच्चा पदार्थ अभावजस्ता समस्याले ती उद्योग पनि धेरैदिन सञ्चालन हुन नसक्ने उद्योगीहरुको भनाइ छ ।