आज गणतन्त्र दिवस । प्रतिकूल परिस्थितिका कारण यसपटक उल्लासमय वातावरणमा दिवस मनाउन नसकिने भएको छ । त्यै पनि सीमित उपस्थितिमा देशभरि नै विभिन्न कार्यक्रमका साथ दिवस मनाउने तयारी गरिएको छ तर प्रश्न खडा हुन्छ – हामीले अपेक्षा गरेको गणतान्त्रिक व्यवस्था यही हो त ?
नेपाली नागरिकहरूको लामो सङ्घर्ष र असङ्ख्य योद्धाहरूको बलिदानपछि यो व्यवस्था स्थापित भएको हो । हरेक नेपालीका मुहारमा खुसीको उज्यालो पोतिने र देशमा विद्यमान् सबै प्रकारका विभेदहरूको अन्त्य भएर समानता कायम हुने अपेक्षाका साथ नेपालीहरूले आत्मबलिदानयुक्त सङ्घर्ष गरेका थिए । के यो अपेक्षा पूरा भयो ?
देशमा अहिले पनि विभेद कायमै छ । राज्यको स्रोत र साधनमा सबै समुदाय र वर्गका नागरिकहरूको समान पहुँच छैन । राज्यसत्तामा एउटा बर्चश्वशाली समुदायको नियन्त्रण कायमै छ । जातकै कारण दलितहरूले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।
प्रदेश नं १ को राजधानी विराटनगरमा प्रदेश मन्त्रीले छनोट गरेका व्यक्तिलाई सुटुक्क खोप दिइएको घटनाले गणतन्त्रको विकृत अनुहार उदाङ्गो भएको छ ।
सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा परेका व्यक्तिलाई सरकारी स्वास्थ्य केन्द्रको साटो निजी सिनेमा हलमा खोप लगाउन खोजिएपछि सर्वसाधारणले विरोध गरेको समाचार आएको छ । नेकपा एमालेका कार्यकर्ताले सिनेमा हलको गेटमा ताल्चा लगाएर पार्टी समर्थक र छानिएका उद्योगपतिलाई गोप्य रूपमा खोप लगाउने प्रपञ्च गरेपछि सर्वसाधारणले विरोध गरे ।
सत्तारुढ दलका कार्यकर्ता र केही उद्योगपतिका लागि मात्र गणतन्त्र ल्याइएको हो ? उनीहरूको जीवन मात्र जीवन हो ? के सर्वसाधारणको जीवनको कुनै मूल्य छैन ? गणतन्त्रलाई कसरी बदनाम बनाउन खोजिँदैछ भन्ने यो एउटा उदाहरण हो ।
अहिले हामी देखिरहेका छौँ – नेताहरूको अहङ्कार, स्वार्थ र महत्वाकाङ्क्षाका लागि व्यवस्थालाई नै विकृत बनाइँदैछ । जनअभिमतको कदर र विधिको पालना गणतन्त्रको आधारभूत सर्त हो तर यहाँ त नेताहरूको आपसी द्वन्द्व र सत्तास्वार्थका लागि जनअभिमत र विधिकै खिल्ली उडाइँदैछ । यस्तो व्यवस्थालाई कसरी गणतन्त्र भन्न सकिन्छ ?
नागरिक सर्वोच्चता र संविधानवाद गणतन्त्रको मूल मर्म हो । हरेक नागरिकले राज्यप्रति अपनत्वको अनुभूति गर्न पाउने अवस्था सिर्जना हुनुपर्छ । यसका लागि जनउत्तरदायी सरकार आवश्यक हुन्छ । निजी स्वार्थ, अहङ्कार र महत्वाकाङ्क्षाका लागि व्यवस्था र संविधानलाई नै दुर्घटनाको बाटोमा लैजाने शासकहरूबाट गणतन्त्रको रक्षा हुन सक्दैन ।
अहिले गणतन्त्र र सङ्घीय व्यवस्थाको रक्षाका लागि नागरिकहरू एकजुट हुनुपर्ने अवस्था आएको छ । राजनीतिक दलका अगुवाहरूले बाटो बिराएका छन् । शासकहरू कुण्ठाग्रस्त भएका छन् । यसरी न व्यवस्था रहन्छ, न त शासकहरू नै रहन्छन् ।
निजी अहङ्कार, स्वार्थ र कुण्ठा होइन, जनउत्तरदायी प्रवृत्तिले मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई दिगो र बलियो बनाउँछ । यो यथार्थलाई बेलैमा आत्मसात् गर्ने सद्बुद्धि नेताहरूमा पलाओस् । नागरिकहरूले पनि कुनै दल वा अमूक नेताको फेरो समाएर होइन, देशलाई केन्द्रमा राखेर विवेक प्रयोग गर्न सकून् ।
गणतन्त्र दिवसको अवसरमा यही शुभकामना । गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणसँगै सम्पूर्ण नेपाली जनको मुहारमा हाँसो र खुसीको उज्यालो पोतिने शहीदहरूको सपना पूर्ण होस् । यसका लागि हामी सबैले आ–आप्mनो भूमिका निर्वाह गर्न सकौँ । हार्दिक शुभकामना †