धरान । एकातिर प्रमुख पदाधिकारीहरु कमिशनको खेलमा तानातान छन्, अर्को तिर कोरोना संक्रमित बिरामीहरु सँग प्रत्यक्षरुपमा सेवा दिइरहेका नर्सहरु सेवा सुविधाको माग गर्दै आन्दोलित हुनु परेको अवश्था छ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ।
कुर्सीमा बसेर भ्रष्टाचार गर्न अनेक बहाना खोज्ने प्रमुख पदाधिकारीहरु प्रतिष्ठानको सेवा सुविधा लिएर बसेका छन्, त्यही बिरामीको प्रत्यक्ष सेवामा दिनरात काम गरिरहेका नर्सहरु तलब, भत्ता सहित सेवा सुविधाको माग गरिरहेका छन् । आइतबार नर्सहरुको टोलिले प्रतिष्ठानका प्रमुख ४ पदाधिकारी सहित मेट्रोनलाई ७ बुँदे मागपत्र बुझाएका छन् ।
प्रतिष्ठानका कर्मचारीलाई आर्थिक संकट देखाउँदै पदाधिकारीहरु भने आर्थिक अनियमिततामा लागेका छन् । प्रतिष्ठानका उपकुलपति र रजिष्टार्डले कमिशन आउने कामहरुमा आफुखुशी खर्च गर्ने तर कर्मचारीहरुलाई चै संकट देखाउने गरेको कर्मचारीहरु बताउँछन् ।
केही दिन अघि चिकित्सकहरुले समेत तलब नपाउँदा कामनै रोक्न खोजेका थिए ।
कोभिड अस्पतालमा बिरामीका लागि ज्यान नै जोखिममा राखेर काम गरिरहेका स्टाफ नर्सहरुलाई तलब नपाए पनि जबरजस्ती काम गर्न दबाब दिइरहेको छ । उनीहरुले अघिल्लो वर्ष बढेको तलब समेत पाउन सकेका छैनन् भने सरकारले नै दिएको जोखिम भत्ता पनि नपाएको गुनासो गरेका छन् । उनीहरु भन्छन्, ‘५० प्रतिशत मात्रै तलब पाउछ भन्छ तर कोभिडमा ड्युटीचै खटाइरहेको छ ।’
अघिल्लो वर्ष कोरोनाको महामारी देखि नै बढेको तलब अहिले सम्म नआएको कोभिड अस्पतालमा कार्यरत एक नर्सले बताईन । उनले भनिन्, ‘आर्थिक वर्ष सकिन लागिसक्यो, अहिले सम्म देको छैन्, पोहोरको पनि कसैले ४० प्रतिशत मात्रै तलब पाएका छन् ।’
प्रतिष्ठानमा आर्थिक संकटमा छ भन्दै फर्काउने गरेको उनीहरुको गुनासो छ । उनीहरु भन्छन्, ‘प्रतिष्ठानका पदाधिकारीहरुले महिना पुग्ने बित्तिकै तलब लिन्छ, हामीलाई चै आलटाल गरिरहेका छन् ।’
कोभिड अस्पतालमा ड्युटी गरिरहेका स्टाफ नर्सहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री सहित बढेको तलब र भत्ता यही महिना भित्र पाउनुपर्ने माग गरेका छन् ।
उनीहरुले प्रतिष्ठानका उपकुलपति, रजिष्टार्ड, निर्देशक र रेक्टर सहित मेट्रोनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सात बुँदे ध्यानाकर्षण पत्रमा गत वर्षको कोभिड भत्ता यही महिना भित्रै उपलब्ध गराएर कोभिड अस्पतालका लागि लिइएको कर्मचारीलाई कोभिड वार्डमै परिचालन गरियोस, गत वर्ष बढेको तलब यही जेठ महिना भित्र एक मुष्ट उपलब्ध गराईयोस्, कोभिड ड्युटीको अवधि छोट्याएर क्वारेन्टाइन र खानाको व्यवस्था गरियोस, पिपिइ, एन ९५ मास्क, ग्लोब्स अनिवार्य उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन् ।
त्यसै गरि कोभिड स्वास्थ्य बिमा, औषधि उपचारको व्यवस्था, मासिक तलब समयमै उपलब्ध गराउन, अस्पतालले दिदै गरेको बिदाको सुविधा कटौती नगर्न तथा गनै परे बिदाको रकम तलब बमोजिम उपलब्ध गराउन माग गरेका छन् ।