धरान । कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न घोषणा गरिएको सुनसरीको जेठ १ गते देखिको लकडाउनले धरानमा ५० प्रतिशत भन्दा बढी जोखिम नियन्त्रण गर्न सफल भएको छ ।
कोरोना संक्रमण बढ्दै गए पछि सुनसरीमा जेठ १ गते देखि १५ गते सम्मका लागि पुर्ण निषेधाज्ञा घोषणा गरेको थियो । निषेधाज्ञाको पहिलो साता प्रभावकारी रहेको पाइएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार ५० प्रतिशत भन्दा बढी जोखिम नियन्त्रण गर्न सफल भएको हो । धरान उपमहानगरपालिकाले हप्ताको तिन दिन एन्टिजेन तथा पिसिआर परिक्षण गराउँदै आएको छ ।
केही दिन अघि सम्म परिक्षण गराएका मध्ये ८० प्रतिशत सम्मलाई पोजिटिभ देखिने गरेको थियो अहिले घट्दै गएको उनको भनाई छ । उनले भने, ‘संक्रमित दर घट्दै गएको छ, एक साता अघि सम्म ६० जनाका परिक्षण गर्दा ४५ जनाको पोजिटिभ आउँथ्यो, केही दिन यता ६० जनाको परिक्षण गर्दा १५ जनामा मात्रै पोजिटिभ देखिएको छ ।’ नगरपालिकाले परिक्षणलाई पनि फराकिलो बनाएको उनले बताए । अझै एक हप्ता पुर्ण लकडाउनको पालना गरिए धरानमा पुर्ण नियन्त्रण गर्न सकिने उनको भनाई छ ।
उनका अनुसार धरानमा दोस्रो लहरको कोरोना संक्रमितको संख्या १३ सय ६ जना पुगेको छ । जस मध्ये ७ सय ८० जना निको भइसकेका छन् । करिब साढे ५ सय जना सक्रिय संक्रमित रहेका मध्ये ९ जना वीपीको कोभिड अस्पतालमा उपचाररत छन् भने १ जना हरियाली सामुदायिक वन उपभोक्ता समितीमा रहेको आइसोलेसनमा छन् ।
लकडाउनले सर्ने क्रमलाई ब्रेक गरेकै कारण धरानमा संक्रमण नियन्त्रणमा आएको उनले बताए । उनले भने, नियन्त्रण गर्न सफल भएका छौं, अब एक हप्ता अझै लकडाउन गर्दा संक्रमण भएकाहरुमा आफै निको हुन्छन्, बाहिर फैलिन पाउँदैन् ।’
लकडाउनलाई प्रभावकारी बनाउन प्रहरी प्रशासनको पनि भुमिका महत्वपुर्ण रहेको छ । अनावश्यक बाहिर निस्कनेहरुलाई कारवाही समेत गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार एक साताको पुर्ण लकडाउनमा २३ वटा दुई चक्के सवारी साधन नियन्त्रणमा लिएको थियो । चारचक्के ४ र तिन चक्के पनि ४ वटा सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरेको थियो ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख ज्ञानेन्द्र बस्नेतका अनुसार करिब डेढ सय मोटरसाइकल तथा स्कुटीको चाँबि नियन्त्रणमा लिएर साँझ मात्रै छाडेको थियो । नियन्त्रणमा लिएका सवारी साधनलाई एक दुई दिन नियन्त्रणमा राखेर जरिवाना गराई छाडिएको उनले बताए ।
लकडाउन पुर्ण कार्यान्वयनमा आएको उनले बताए । आम नागरिकहरुले पनि पुर्ण रुपमा पालना गर्दा कोरोना संक्रमणको नियन्त्रणमा सहज भएको उनको भनाई छ । उनले भने, केही फाट्टफुट्ट मानिसहरु बाहिर निस्किए, तर समग्रमा प्रभावकारी भएको छ ।’