विराटनगर । कोरोना संक्रमणको जोखिम झन् बढ्न थालेपछि मोरङका बैंक तथा वित्तीय संस्था साता भरका लागि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले मोरङ जिल्लाका सबै बैंक तथा वित्तीय संस्थाहरु जेठ ११ गतेसम्मका बन्द गर्न पत्राचार गरेको छ । राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम अत्यावश्यक बैंकिङ सेवा बाहेक अन्य सबै बैंकिङ क्रियाकलाप बन्द गर्न भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरुसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई कडाई गरेको भएपनि बैंक तथा वित्तीय संस्थाहरु खुला थिए । बैंकिङ कारोबारका कारण भिडभाड बढेकोले संक्रमणको जोखिम अधिक भएको नागरिकस्तरबाट समेत गुनासो आई रहेको थियो ।