धरान । केही दिन अघि क्यामेलिया नर्सरीका सञ्चालक राजेशुकमार राईले धरानमा चुलिएको खानेपानीको अभावका कारण नर्सरी सञ्चालकहरु विस्थापित हुने अवस्थामा पुगेको भन्दै फेसबुकमा स्टाट्स लेख्दै दुखेसो गरे । उनले धरान खानेपानी बोर्डले दिन विराएर १० मिनेट पानी वितरण गर्दा विरुवामा पानी हाल्न नपाएपछि विरुवा सुकेर गएको भन्दै यही अवस्था आए व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको स्टाट्समा लेखेका थिए ।
पानी अभावकै कारण क्यामेलिया नर्सरीका राजेश मात्र हैन धरानमा नर्सरी सञ्चालन गरेर बसेका दुई दर्जनभन्दा बढी व्यवसायीको व्यवसायबाट हात धुनुपर्ने अवस्था आएको छ । उनीहरुले लाखौ लगानी गरेर लगाएको फूलका विरुवा सुकेर खङ्ग्या¥ङखुग्रुङ भएका छन् ।
१० बर्ष देखि धरान ७ शान्तिपथमा क्यामेलिया नर्सरी सञ्चालन गर्दै आएका राईले नर्सरी व्यवसाय पानी विना चल्नै नसक्ने बताउँछन् । पानी अभावका कारण लगाएको फूलका विरुवा सुकेर सबै नष्ट भएको उनी गुनासो पोख्छन् । उनी भन्छन्, ‘आकाशबाट पनि पानी आउदैन, घरको धारामा पनि पानी आउदैन, पानी नआएकै कारण विरुवा जोगाउनै गाह्रो भएको छ ।’
नेपाल फ््लोरीकल्चर एसोसिएसन नेपाल सुनसरीका सचिव समेत रहेका राईले पानीकै अभावका कारण विरुवा मर्दा करोर्डौ रुपैया घाटा व्यहोर्नुपर्ने अवस्था आएको बताए । उनले पानी उपलब्ध गराउन धरान खानेपानी बोर्डका अध्यक्ष तिलक राई, व्यवस्थापक राजु पोख्र्ेल लगायतलाई धेरै पटक गुहार्दा समेत सुनुवाई नभएको उनले बताए । उनले भने, ‘पानीका लागि धेरै पटक बोर्डका पदाधिकारीलाई धेरै पटक गुहार्यौ, तर उनीहरुले सुनेको नसुनेझै गरे ।’
उनले ट्यांकरबाट पानी किनेर नर्सरी सञ्चालन गर्न कठिनाई भएको बताए । पानी मगाउँदा समेत भन्ने वितिकै नआउने गरेको उनको भनाई छ । पानी अभावकै कारण आफूले लगाएको ५० प्रतिशत विरुवा मरेका उनी बताउछन् । उनी भन्छन्, ‘आधाभन्दा बढी विरुवा मर्दा ५० प्रतिशत भन्दा बढी लगानी डुबेको छ, यसलाई परिपूर्ति गर्न निकै गाह्रो छ ।
धरान ९ पूर्णपथमा एन्जिला नर्सरी सञ्चालन गर्दै आएका रतन वेराको अवस्था पनि राईकै जस्तै छ । उनी पनि पानी अभावका कारण आफूले लगाएको सबै विरुवा मरेको बताउँछन् । विरुवा मर्दा लाखौ घाटा व्यहोर्नु परेको उनले बताए । उनीहरुले धरान लगायत विराटनगर तथा भारतदेखि फूलका विरुवा ल्याउने गरेका छन् । उनी भन्छन्, ‘विगतमा धरानमा पानीको अभावका कारण विरुवा मरेको कहिल्यै थाहा छैन, यसपटक आकाशबाट पनि पानी आएन, धारामा पानी आउदैन, कसरी विरुवा जोगाउने, मुस्किल प¥यो ।’
विरुवा जोगाउन पानी किनेर लगाउदा पनि हप्तामा ६ हजार भन्दा बढीको पानी चाहिने उनले बताए । कोरोनाका कारण व्यवसायीक चहलहल कम एकातिर छ भने अर्कोतर्फ पानी अभावकै कारण लगाएको लगानी समेत जोगाउन गाह्रो भएको उनको गुनासो छ । यस्तो अवस्था आइरहे व्यवसायबाट हात धुनुबाहेक अर्को विकल्प नरहेको वेरा बताउँछन् ।
फ्लोरीकल्चर एसोसिएसन सुनसरीका सदस्य समेत रहेका उनी भन्छन्, ‘पानी अभाव हुदा समेत स्थानीय सरकारबाट केही सहयोग पाइएको छैन, बल्लतल्ल किनेर ल्याएको पानीले पनि सबै विरुवालाई पुग्दैन, अझै यस्तै भइरहे अब व्यवसाय धेरै दिन टिक्दैन ।’
एसोसिएसनका अनुसार धरानमा मात्रै २२ वटा नर्सरी सञ्चालनमा छन् । पानीकै अभावले खरिद गरेर ल्याएको विरुवा हुर्काउन नसक्दा व्यवसाय नै चौपट्ट बनेको छ । यहाँ उत्पादन भएका फूलका विरुवाहरु स्थानीय स्तरमा विक्री हुनेमात्र हैन काठमाण्डौ लगायत भारतका विभिन्न स्थानमा समेत निर्यात हुने गरेका छन् । तर पछिल्लो समय कोरोना महामारीसंगै खानेपानी अभावले नर्सरी सञ्चालकहरु अन्य व्यवसाय भन्दा अझ धेरै मारमा परेका छन् । उनीहरुले सहज रुपमा पानीको आपूर्ति गरिदिन स्थानीय सरकारसंग माग समेत गरेका छन् ।