धरान/ अझै पनि कोरोनाको संक्रमण कायमै रहँदा खुकुरी उद्योग व्यवसायीहरुले उत्पादन गरेको खुकुरी निर्यात हुन नसक्दा उद्योग बन्द गर्ने अवस्थामा पुगेका छन् ।
०७२ सालमा भएको नाकाबन्दीमा थलिएको खुकुरी उद्योग बल्लतल्ल तङ्ग्रीन लागेको अवस्थामा पुनः अघिल्लो वर्ष देखि विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण उत्पादन भएको खुकुरी विदेश निर्यात नहुँदा खुकुरी व्यवसायी झन पिडामा परेका छन् ।
नाकाबन्दीको समयमा उत्पादित खुकुरी निर्यात हुन नसक्दा पनि व्यवसायीले धैर्यता राखेका थिए । नाकाबन्दी खुले सँगै उत्साहित बनेका व्यवसायीले फेरी अर्को समस्या नआउँला भन्ने सोचेका थिए । तर पुनः कोरोनाको संक्रमणले पुरै बन्द बनेको व्यवसाय अहिले धान्ननै गाह्रो भएको न्यू गोर्खा खुकुरी उद्योग प्रा.लि.का सञ्चालक दिपक विश्वकर्मा बताउँछन् । उनले भने, ०७२ नाकाबन्दीको प्रभावलाई जसोतसो धान्दै थियौं, फेरि कोरोनाका कारण खुकुरी विदेश निर्यात हुन नसक्दा उद्योग नै बन्द गर्ने अवस्थामा पुगेको छ ।’
नेपाल खुकुरी व्यवसायी संघ सुनसरीका अध्यक्ष समेत रहेका विश्वकर्माले धरानमा रहेका उद्योगहरुबाट मात्र ८ देखि १० हजार पिस खुकुरी विदेश निर्यात हुने गरेको थियो । यहाँ उत्पादन भएका खुकुरी चीन ७० प्रतिशत निर्यात हुने र बाकी अमेरिका, जापान, जर्मन लगायतका देशमा निर्यात हुने गरेको थियो । उनले भने, ‘सबैभन्दा बढी खुकुरी चाइना निर्यात हुन्छ, तर कार्गोले अहिले खुकुरी नै लान छोडेको छ, यसले गर्दा चाइना खुकुरी जानै छाड्यो ।’ यहा बनेका खुकुरी नेपालमै खपतै नहुने उनी बताउँछन् । विगतमा सहज हुदा विश्वकर्माको न्यू खुकुरी उद्योगबाट मात्र दैनिक ९ सयदेखि १ हजार पिस खुकुरी चाइना जाने गरेको थियो ।
खुकुरीवापत मासिक ८÷१० लाख उद्योगलाई आम्दानी हुने गरेको थियो तर अहिले खुकुरी विक्री नभई थन्किदा कालीगढलाई दिने तलब समेत व्यवस्थापन गर्न गाह्रो हुने भएको उनी बताउछन् । उनी भन्छन्, ‘कतिपय देशले खुकुरीलाई हतियारको रुपमा लिने गरेको समेत पाइएको छ, तर यो हस्तकलाको समाग्री भित्र पर्छ ।’ नेपाल सरकारले हतियारभन्दा पनि हस्तकलाको सामाग्रीको रुपमा अन्य देशमा व्रिफिङ गरेर निर्यात गर्ने वातावरण तयार पारिदिन उनले आग्रह समेत गरेका छन् ।
नेपाली खुकुरी विश्वमै प्रख्यात छ । गोर्खालीको वीरगाथामामा समेत उल्लेख भएको खुकुरीको विश्वभरि चर्चा रहे पनि सहज रुपमा निर्यात नहुँदा खुकुरी व्यवसायी चिन्तित छन् । धरान १५ मा खुकुरी उद्योग सञ्चालन गर्दै आएका गोविन्द रसाइली पनि अहिले खुकुरी निर्यात नहुँदा उद्योग सञ्चालन गर्ननै कठिन भएको बताउँछन् । उनी भन्छन्, ‘नाकाबन्दीमा बल्लतल्ल उद्योग सञ्चालन ग¥यौ, सहज होला भनेको अहिले फेरि त्यही अवस्था आयो, उद्योग कसरी सञ्चालन गर्ने ?
सरकारले सहयोग नै गर्दैन ।’रसाइलीले नाकाबन्दीदेखि अहिलेसम्म उद्योगले करोडौ घाटा व्यहोर्नु परेको बताए । उनले भने, ‘अब पनि यस्तै हुदै गयो भने उद्योग सञ्चालन गरेर बस्नु बाहेक अर्को विकल्प छैन, उद्योगबाट आम्दानी नहुँदा ऋण लिएर उद्योग सञ्चालन गर्दा कत्तिदिन टिकाउनु ?’
उद्योगी विश्वकर्मा र रसाइलीमात्र हैन धरानमा रहेका १५ वटा उद्योगका सञ्चालकहरुको हालत उस्तै छ । उद्योग सञ्चालनका लागि सरकारले सहज वातावरण तयार पारिदिनुपर्ने उनीहरुको माग छ ।
वीर गोर्खालीको परिचय बोकेको हस्तकलाको सामाग्रीको रुपमा विदेशीहरुले प्रयोग गर्ने खुकुरी उद्योगलाई राज्यले सहयोग गरेर भएपनि उद्योग बन्द हुनबाट जोगाउनुपर्ने उनीहरु बताउँछन् । यसका लागि खुकुरी निर्यात हुने देशहरुमा निर्यातका लागि सरकारी स्तरबाट सहज वातावरण तयार पार्नुपर्ने उनीहरुको भनाई छ ।