सन्दर्भमा : नेपाली हाइकु र डा.भीम

  • चैत्र २८, २०७७
  • कोशीपत्र/संवाददाता
alt

हाइकु साहित्यको सिर्जनाका कर्ममा नेपाली साहित्यले आधा शताब्ली काटेपछि यसको विकास अझ तीव्रतर हुँदै गएको छ । काव्यसाहित्यको मेसोमा हाइकु पछिल्लो सिर्जना भएर मात्र होइन संरचनागत प्रवृत्ति र आयामको सूक्ष्मताले पनि फुटकर कविता, गजल अथवा आख्यानका विधाजस्तो उपस्थितिमा देखिँदैन । सिर्जनाको अभियानमा कविताका केही रूपहरूमध्ये हाइकुमा कलम दरिलो पार्दै पुस्तकाकार कृतिको उपस्थितिमा आउनुभएको छ, धरान सुनसरीबाट भीम खतिवडा । भीम खतिवडाले काव्य र समालोचना र नियात्राका कृतिपश्चात् कविता र निबन्धका फुटकर रचनालाई क्रमशः प्रकाशनमा राखेर पाँचसय हाराहारी हृदयसंवेद्य हाइकुहरूको सङ्ग्रह शब्दहरूको शिविर प्रकाशन गर्नुभएको छ । कविता मात्रै होइन, आफ्ना भनाइलाई समेत काव्यिक लयमा प्रस्तुत गर्न सक्षम कवि भीमको हाइकुप्रतिको मोहले सिर्जेको हाइकु कृतिले हाइकुको भण्डारमा एउटा इँटा थपेको छ ।

हाइकु नेपाली साहित्यमा लघु आकारको कविताको रूपमा विकास हुँदै आएको चिनियाँ पृष्ठभूमिमा चित्रको बीजभूमिहुँदै जापानमा पुगेर शब्द, भाव र विचारको आक्षरिक रूप प्राप्त गरेको जापानी साहित्यिक संस्कृतिको उपज हो । छैटौं शताब्दीदेखिको हाइकुको यात्राले जापानमा आजको रूप प्राप्त गरेको हो । चिनियाँ चित्रकारी रूपले जापानमा पाएको अक्षरको रूपबाट करिब एघार सय वर्षको जुनी काटेपछि सत्रौं शताब्दीमा आएर हाइकुको रूप लियो । जापानी हाइकु लेखनको परम्परा अङ्ग्रेजी साहित्यको बाटोहुँदै नेपाली साहित्यमा आयो ।जापानीबाट नेपालीमा सोभैm अनुवाद भएका र भावानुवाद भएका अति थोरै कृतिहरूले नेपाली साहित्यको हियो भरिएन । जटिल मानिनाले सबैको पहुँचमा सहज सम्भावना पनि भएन । सुन्दर प्रकृतिभित्र बसेर सिर्जना गरिरहँदा पनि नेपाली साहित्यले प्रकृतिभन्दा समाज र जीवनलाई पहिलो प्राथमिकता दिने सन्दर्भमा प्रकृति र ऋतुबिम्वलाई अनिवार्य विषयमा नलिनाले नेपाली साहित्यमा हाइकु र सेन्युजस्ता विभिन्न नेपाली जातका हाइकु रूपहरूको जन्म हुन पुग्यो । नेपाली पृष्ठभूमिमा चल्दै आएको प्रवृत्तिभित्रैबाट हाइकुकवि भीम खतिवडाले सङ्ग्रहमा नेपाली शैलीका हाइकु सिर्जना गर्नुभएको छ ।

सूक्ष्म वस्तुको अस्तित्व जहिल्यै सङ्कटमा परेको देखिन्छ । हाइकु सूक्ष्म आयामको भएको हुनाले कसैलाई साहित्यिक निन्दा गर्नुप¥यो भने पनि हाइकु कविताको उदाहरण दिइने, पुरस्कार घोषण गर्दा कतै हाइकुमा नै पर्ने हो कि भनेर सतर्क रहने सङ्कटग्रस्त संस्कार नेपाली साहित्यमा विद्यमान छ । कतिपय जिकिरकर्ताहरूले यो हाइकु होइन कविता हो भनेर पनि तर्क गर्दैछन् । वि.सं.२०१९ सालमा रूपरेखा पत्रिकामा शङ्कर लामिछानेको हाइकुको परिचयसहितको लेख प्रकाशित भयो । उक्त लेख र पारिजातको शिरीषको पूmलको भूमिकामा लेखेको हाइकुलाई हेर्दा आधा शताब्दीबाट उकालो लाग्दै गरेको मात्रै हुनाले हाइकुको उमेर हामीमाझ कलिलो छ । अहिलेको परिवेशमा सञ्चारको पहुँच र भाषाको पहुँचका कारण एक्काइसौं शदीको आधा शताब्दीले नेपाली हाइकुलाई स्थापित विधाको रूपमा चिनाइसकेको छ, तथापि यसले बिम्व, कला, विचार, रूप, संस्कारसहितको नेपाली हाइकु निर्माण हुन पर्खनुपर्छ भन्ने पनि देखाउँछ । विवाद, छलफल र सम्वाद हुनु यसको प्रगतिको लक्षण हो । विधागत रूपमा यो कविताको एउटा रूप हो । हाइकुको इतिहासले आधा शताब्दी पार गर्दै गर्दा कवि भीम हाइकु लिएर आउनुभएको छ ।कवि भीमका हाइकुमा कविताको रस उच्च छ । कविको ध्यान पाठकको समीपमा सरल बुझियोस् भन्ने देखिन्छ । काव्यरस र सरल प्रस्तुतिका साथ हाइकुको सङ्ग्रहमा आउनुभएका भीमको यस सङ्ग्रहभित्र पाठकले अनेक रस अनुभव गर्नेछन् । हाइकुको संरचनामा प्राप्त काव्यिक रसका सन्दर्भमा दुविधा रहन्न । ‘हाइकु कविता वास्तवमा त्यति सजिलो कविता होइन ।’

नेपाली साहित्यमा हाइकुको प्रवेश गराउने शङ्कर लामिछानेले नेपाली साहित्यमा हाइकुको चर्चा भित्रिएको आठ वर्षपछि २०२७ को रूपरेखामा भनेको यो भनाइले नेपाली हाइकु लेखनमा महत्त्व राख्छ । एक त हाइकुलाई कविता भनिनु अर्को यो अलिक गम्भीरतापूर्वक लागेपछि लेख्न सक्ने हुनुतिरको लामिछानेको सङ्केतले कविता हो होइन भन्ने तर्क र हाइकुको गम्भीरताको तर्कलाई छर्लङ्ग पारिदिन्छ । उनले ‘५–७–५’ अक्षरका कवितामा यसका तीन पङ्क्तिको मुख्य विभाजनमा एउटा दर्शन छ ।’ त भने तर संरचनालाई समात्ने र दर्शनलाई छोड्ने परम्परा नेपाली लेखनमा आयो । आफैंले हाइकु लेखेको ऐतिहासिक बिन्दुदेखि ०२७ सालसम्मको समयावधिको आठवर्षसम्ममा लामिछानेले हाइकुको संरचना र दर्शनबीच जुन कुरा बोलेका छन् आज पचास वर्षपछिका विश्लेषकहरू पनि त्यही कुरालाई दोहो¥याउनुपर्ने अवस्थामा छन् । संरचनालाई समातेर जेन दर्शनको ध्यानलाई स्थगित गर्दै स्थगित गर्दै अघि बढ्न प्रेरित देखिन्छ नेपाली हाइकु । कवि भीमका हाइकुमा काव्यको सौन्दर्य अधिक रमेको छ । केही रचनाले दर्शनको साथ छाडेका छन् । नेपाली हाइकुलेखनका अग्रजमध्ये एक रामकुमार पाँडे जापानी हाइकुभैंm नेपाली हाइकुमा पनि ऋतुबिम्वलाई हाइकुको प्राण मान्नुहुन्छ । ऋतुबिम्व नभएका हाइकुलाई सेन्यु भन्नुपर्छ भन्नुहुन्छ । बिम्वलाई मूलप्राण मान्नुपर्छ भन्ने पाँडे जेन दर्शन अर्थात् झल्याँस्स पार्ने हाइकु बिम्व नभएका तर रूप मात्र भएका सेन्युले नेपाली हाइकु रूपको साहित्य अघि बढेको छ भन्नुहुन्छ । यसरी हेर्ने हो भने अब नेपाली हाइकुको यात्रा दुई धारमा हिँडेको भेटिने छ, जेन दर्शनको पृष्ठभूमिको हाइकु र नेपाली हाइकुले निर्माण गरेको शैली सेन्युको रूपमा । हाइकु कवि भीम खतिवडाका हाइकुमा जेन दर्शनका हाइकु पनि छन् र सेन्यु पनि । हेरौं ः
प्राप्ति
काँडाको काख
सुवासित कुसुम
अभिसारिका
दुर्गति
मुर्कट्टा यात्रा
चिनारी न विचारी
गिँडको हुल
यी प्राप्ति र दुर्गति शीर्षकका दुई हाइकुमध्ये ऋतुबिम्वका कारणले पहिलो हाइकु र दोस्रो सेन्यु हुन पुगे । प्राप्तिमा प्रेमको सफलता र सन्तुलनलाई काँडा र कुसुमसँगै राखेर देखाइयो । दुर्गतिले राजनीतिलाई सम्बोधन ग¥यो । यसमा पनि पहिचान र विचारको टुप्पो न फेद भएको नेपाली राजनीतिक शैलीको पराकाष्ठालाई समातेर लेखिएको छ, तर यसमा ऋतुबिम्व नहुँनाले यसलाई सेन्युभित्र राख्नुपर्ने भयो । हाइकुमा सिङ्गो यात्रालाई मुर्कट्टा भनिनु, जसको मगजवाला टाउको छैन र जहाँबाट विचारको पुञ्ज निस्केर नेपालको राजनीतिलाई निर्देशन गर्छ, त्यस्तै त्यस यात्रालाई साथ दिन जहाँ गिँडहरूको हुल छ र त्यहाँ पनि परिचय र विचार प्रयोग हुने टाउको तिनीहरूसँग छैन । अब यस्तो दुर्दशाको राजनीतिक गतिले देशमा वितण्डा नमच्चाए के गरोस् त भन्न सक्ने कविको यो खुबी नै हाइकुको एक नमुना हो । हाइकुका विश्लेषकहरूले जापानी शैलीको किगो खोज्दा यस हाइकुमा प्रकृति र मौसम नपाउलान् तर यहाँ वर्तमानमा तहसनहस भएको राजनीतिको किगो छ भने हुन्छ । नेपाली हाइकु काव्यनिर्माणका हिसाबले यी दुबै रचनाको महत्ता कम र बढी छैन । हाइकुको मात्रात्मक लेखनको तीव्रतालाई अब कहिले सूत्रले रोकेको देखिँदैन, कहिले दर्शनले अँचेटेको देखिँदैन । सूत्रात्मक लेखन यसको आकर्षक पक्ष रह्यो भने ध्वन्यात्मकताले काव्यको स्वरूप निर्माण ग¥यो ।

नेपाली हाइकु यति विघ्न लेखिन थालिएको छ कि कवित्वशक्तिले हाइकुको संरचना त पाइन्छ, तर दर्शनको कुरा दोस्रो बनेर गएको देखिन्छ भने कतिपय ठाउँमा संरचनाको साँघुरो नजरबन्दलाई उछिनेर दर्शनको गाम्भीर्य यसको प्राप्ति बनेको छ । ‘नेपाली भाषामा हाइकु बनाउँदा अक्षरको संख्यामा मतलब नराखी उच्चारणमा जसरी सिलेबल हुन्छ त्यसरी नै मिलाउनुहोस् । अनि मात्र वाचनमा मिठास आउने छ ।’(प्रतिनिधि नेपाली हाइकु ः मधुसूदन गिरी ) जापानी कवि तथा गीतकार हारोहितो नोजुको यो भनाइले नेपाली हाइकु कविले संरचना र काव्यमा ध्यान दिन खोजेको तर वाचनको मिठासमा ध्यान दिनुपर्ने जरुरीलाई सङ्केत गरेको देखिन्छ । कवि भीमका हाइकुमा त्यो मिठास प्रशस्त पाइन्छ । एउटा हाइकु हेरौं ः
घोषणापत्र
बाँसे सन्तति
बाँसुरी धून या त
सोते सुरुरु
हाइकुका विशिष्ट विश्लेषक डा.अभि सुवेदी हाइकुमा सातोरी, रिक्ततालाई वा उन्मुक्तिलाई पहिलो तत्त्व मान्नुपर्छ भन्नुहुन्छ । हाइकुलाई बहुपठन गरिनुपर्छ भन्ने हो ।शीर्षकले यस मान्यतालाई उल्टाइदिन्छ । हाइकुमा शीर्षक राख्ने परम्परालाई प्रयोग गर्नु यस सङ्ग्रहको विशेषता बनेको छ ।सम्भावनाको खालीपन भनेको विषयलाई पुष्टि गर्ने अनन्त प्रक्रिया पनि त्यही नै हुने हो, तर यहाँ शीर्षकले हाइकुको अनेकार्थकतालाई विशिष्टीकरण गरेको छ । तीन हरफका सत्र अक्षरको मान्यता भने विचलन भएको छैन ।

यस सङ्ग्रहमा संरचनाका पक्षमा सचेतता राखेर हाइकुका लागि तीन हरफ र सत्र अक्षरमा केन्द्रित हुँदै किगोका लागि मौसम वा प्रकृतिलाई मात्र नभएर नेपाली शैलीका आधारमा समाज, जीवन, राजनीतिक चरित्र, व्यङ्ग्य आदिको प्रयोग गर्दै सिर्जना गरेको पाइन्छ । कवि भीमले जीवनको सापेक्षतामा हाइकु प्रस्तुत गरेको पाइन्छ ।नेपाली र नेपालेली भाषा मैथिली, नेवारी, भोजपुरीमा समेत हाइकु लेखिँदै आएको लामो इतिहासको सेरोफेरोलाई ध्यानमा राखी नेपाली हाइकुको परम्परालाई हेर्दै ल्याउने हो भने हाइकु लेखनको केही राम्रो इतिहास बनेको पाइन्छ । भाषिक हिसाबले कविले तत्सम र अङ्ग्रेजी शब्दहरूलाई पनि निकै सरल जनजिब्रोकै भाषासरह प्रयोग गर्नुभएको छ । हाइकुको काव्यिकता तत्सम शब्दहरूको प्रयोगले तुमुल बनेको छ । दृष्टान्तका लागि एउटा हाइकु उठाऔं ः
युद्धार्थी
मन डढेलो
रक्तयुद्धको प्यास
कस्तो तितीर्षा ?
कविता वाचन, मन्तजस्तै हाइकुमा पनि निजत्व छ कवि भीमको । म्बिविधानको निजत्वले पहिचान निर्माण गरेको छ । बहुलतावादी साहित्यका लागि बीसौं शताब्दीको साहित्यले जे भन्थ्यो अर्थात् अकेन्द्रको कुरा गथ्र्यो त्यो पहिल्यै सत्रौं शताब्दीको जापानी साहित्यमा हाइकुले भनेको थियो, जो हाइकाइका रूपमा विकसित हुँदै आएको थियो । बहुपठनको सन्दर्भमा हाइकुको अवधारणालाई अगाडि ल्याएका थिए, जापानी हाइकु कविहरूले । मात्सुओ बासोको किगो र आयामलाई चुनौती दिँदै आधुनिक हाइकुका लागि तत्कालीन समयमा जोखिम उठाएका थिए, मासाओका सिकीले । नेपाली हाइकुका सन्दर्भमा सामान्य पाठकका लागि अर्थको जटिलताबाट हाइकुलाई मुक्त गर्दै अनेक पठनको स्वन्त्रताबाट निश्चित दायरामा ल्याएर स्पष्टताभित्र नेपाली हाइकुको रूपरेखा खिच्न डा. भीम खतिवडाका हाइकुका शीर्षकीकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । हाइकु लेख्ने क्रममा हाइजीन भीमले आक्रोशलाई पनि शालीन तरिकाले प्रस्तुत गर्नुभएको छ । उनीभित्र समयचेत छ, व्यङ््यात्मकता छ र छ समाजसापेक्ष सकारात्मक सांस्कृतिक रूपान्तरणको उत्साहप्रद अपेक्षा पनि । उनी हाइकुका माध्यमले सचेतनाको मीठो सन्देश बाँड्छन् । शिष्ट शब्दमा विसङ्गत समाजको दोहोलो काड्छन् । खतिवडा हाइकुको प्रभावोत्पादकताप्रति निकै सचेत देखिन्छन् । जनक्रान्तिको धज्जी उडाउनेलाई फकाई फकाई व्यङ्ग्य गरिएको एउटा हाइकु प्रस्तुत गरौं ः
जनक्रान्ति
यो खेल हो क्या !
जिते युद्ध मानिन्छ
हारे विद्रोह
क्रान्तिलाई सही तरिकाले नेतृत्व नगर्ने कुनै पनि राजनीतिक दललाई यसरी प्रहार गर्नु कवि लेखकको दायित्व पनि हो ।
साना आयामले ठूला कुरा भनिरहन सक्ने हाइकुलाई सूक्ष्म कविता भनेर मात्र पुग्दैन । यसको रूप, सौन्दर्य, विषयविशालता, आदि आफ्नै काव्यसंस्कारका कारणले यो पूर्ण कविता रूपको रचना हो । पानीदार आँखाको नानीजस्तो हो हाइकु । यसको चम्किलोले देखिन्छ अपरिमेय ब्रह्माण्ड । हाइकुमा जीवन र समाजलाई, संस्कृति र देशलाई, प्रेम र उत्कर्षलाई, विसङ्गति र विद्रोहलाई आँकलन गर्न सक्रिय कवि भीमका हाइकु भरिला छन् । सूक्ष्मातिसूक्ष्म विषयबाट पाठकमाझ प्रियतम साइनो बनाउन सक्ने क्षमता कवि डाक्टर भीममा छ ।

169069613_447135626540287_6239303245600973209_n

 

 

 

 

 

 

 

 

(लेखिका वैजयन्ती मोरङ उर्लाबारीमा रहेर नेपाली कविता र हाइकुको सृजना तथा समालोचनामा स्थापित स्रष्टा हुनुहुन्छ । –सं.)

 

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved