समकालीन नेपाली कथामा साइबर संस्कृति –२

  • चैत्र २०, २०७७
  • भीम खतिवडा
alt

साइबर संस्कृति: नवीन जीवनपद्दति

भाषा नै सबै कुराको माध्यम बन्दछ । शाब्दिक रूपमा अंग्रेजीको साइबर तथा अंग्रेजीकै कल्चर शब्दको नेपाली रूपबाट ‘साइबर संस्कृति’ बनेको हो । साइबर नेटसँग सम्बद्ध साइबरले यन्त्रबाट सूचनाहरू प्रवाह गर्ने अर्थ राख्छ । अति संक्षेपमा सरल ढङ्गले भन्ने हो भने कम्प्युटरको प्रयोग र यसको सञ्जालले निर्माण गरेको यन्त्रनियन्त्रित अभौतिक (भर्चुअल) समाजमा बनेको संस्कृतिलाई नै हामी साइबर संस्कृति भन्दछौं । सन् १९६३ मा ‘द अक्सफोर्ड इङ्लिस डिक्सनरी’ले साइबर कल्चर शब्दको प्रारम्भिक प्रयोग गरेको बताउने साइबर संस्कृतिविद् ज्याकोबले यसलाई भौतिक पक्ष, सूचना सम्प्रेषणको पक्ष, मानवशास्त्रीय पक्ष तथा सृजनाको पक्ष गरी चार महत्वपूर्ण आधारमा वर्गीकरणसहित अध्ययन गरेको देखन्छि । साइबर संस्कृतिमा कम्प्युटर विज्ञान र यससँग सम्बन्धित साइबर प्रविधिविज्ञानसम्बद्ध हार्डवेयर र सफ्टवेयरको विकास र यसको प्रयोगको शैली, रोबोर्ट, कृत्रिम बौद्धिकता, कृत्रिम जीवन आदिको अध्ययन गरिन्छ ।

हामी साइबर युगमा छौँ । साइबर संस्कृति पदावलीले पनि कम्प्युटर सञ्जालको प्रयोगद्वारा समाजमा स्थापित हुँदै गरेका मूल्यमान्यता र रहनसहनमार्फत् परिचित हुँदै गरेको संस्कृति बुझिन्छ । वर्तमान उपयोगितावादी युगजीवनको विकसित सूचना र प्रविधिमा कान्छो सन्तानको रूपमा साइबर संस्कृतिले दुनियाँमा आफूलाई स्थापित गरेको छ । पुँजीवादी बजार र विज्ञापन संस्कृतिको चरम उपनिवेश बनेर सूचना–प्रविधिका माध्यमबाट प्राकृतिक सांस्कृतिक मानवीय मूल्यहरूलाई विस्थापित गरेर घरघरमा, विशेषतः नयाँपुस्ताका टाउकाटाउकामा सवार भएको नयाँ तार–बेतार संसारको एकल प्रवृत्तिको नाम बनेको छ साइबर संस्कृति । यद्यपि हरेक विषयका सकारात्मक र नकारात्मक पाटाहरू हुन्छन्, विवेक मूल्याङ्ककनको हतियार हो । साइबर संस्कृति वर्तमानमा हाम्रो समाजका लागि पनि गुलियो र रङ्गिन आकर्षण बन्दै गएको यथार्थमा हामी सबै मौन समर्थक बन्नुको विकल्प पनि छैन ।

साइबर संस्कृतिभित्र प्रचलित पारिभाषिक शब्दावलीहरू मध्ये भर्चुअल रियालिटी, हाइपर रियालिटी, ग्लोबल भिलेज, भूमण्डलीकरण, साइबर स्पेस, साइबर नेटिक्स, साइबर पङ्क, साइबोर्ग, हाइपर टेक्स, परामानव, ह्याकर, साइबर विडो, सिमुलेसन, साइबर क्याफे, भाइरस, क्र्याकर, फ्रिक, साइबर क्राइम आदि पर्दछन् ।
हामी अब भुमरीमा छौँ । जान्दिनँ भनेर भाग्न पनि असहज छ, मान्दिनँ भनेर त मुक्ति कहाँ ! वास्तवमा प्रविधिको अतिशय विकासका कारण प्रविधि नै यस युगको संस्कृति बनेको छ । प्रविधि अन्तर्गत सूचना प्रविधिका क्षेत्रमा झनै अभूतपूर्व विकास भएको हुँदा साइबर प्रविधि नै साइबर संस्कृति बनेकोले त्यसको प्रत्यक्ष प्रभाव साहित्यमा पनि परेको छ । आजको नेपाली साहित्यमा पनि नेट, कम्प्युटर, भिडियो, विज्ञापन आदिको सघन प्रभाव परेको हुँदा साइबर झल्को दिने कृतिहरूको सङ्ख्या बढ्दो छ । यन्त्र मानव तथा तिनका अर्धमानवीय र अर्धयान्त्रिक गतिविधि भएका कृतिहरूले पनि नेपाली साहित्यमा साइबर संस्कृतिको प्रसार गरेका छन् । त्यसै गरी अहिलेका कृतिहरूमा प्रविधिसँग सम्बद्ध परोक्ष यथार्थ र अतिशय यथार्थको बढ्दो प्रयोगले पनि साहित्यमा साइबर संस्कृतिको सघनतातर्फ सङ्केत गर्छ । विद्युतीय सञ्चारको सञ्जालमा विशेषतः इन्टरनेटसँग जोडिएकाले साइबर भनेर परिभाषित गरिएको हो ।

लेखनमा साइबर संस्कृतिको व्यापक प्रयोगको समय हो यो । विविध विधामध्ये हामीले समकालीन नेपाली कथामा यसको प्रभाव र प्रयोगबारे क्रमशः चर्चा गरिरहेका छौँ ।
नेपाली कथामा साइबर संस्कृतिबारे रहल कुरा पूर्वविमर्शमा दृष्टान्तका रूपमा मात्र समकालीन साइबर–कथाहरू उल्लेख गरिए ता पनि यस्ता कथाहरूको अभिलक्षण मूलतः एकै प्रकृतिको हुन्छ । यस्ता कथामा समकालीन नेपाली समाजको जीवनशैली,चरित्र, दैनन्दिनी, परिवेश तथा समयचेतको प्रभावपूर्ण प्रस्तुति देखिन्छ । साइबर संसारमा प्रचलित सबै क्रियाकलापहरू, डायस्पोरिक वस्तुसन्दर्भ, अर्थगत बहुलता, भूमण्डलीकरण, विनिर्माणचेतना, संस्मरणात्मकता, प्रविधिप्रताडना, भुइँमान्छेका व्यथा, मानिसको वस्तुकरण तथा विज्ञापनजस्ता सकारात्मक–नकारात्मक प्रवृत्तिगत विशेषता नै यस्ता कथाको पहिचान बनेको देखिन्छ ।

यस्ता कथाहरूमा मूलतः सामाजिक सञ्जालहरूको प्रभाव व्यापक देखिन्छ, जहाँ फेसबुक, ट्वीटर, वाट्स एप, स्काइप, ट्याग, म्यासेन्जर, भाइरस, मेमोरी, ब्लग, वेभपेज, च्याटिङ, गुगल, याहु, अनलाइन, ह्याकिङ, इमेल, म्यासेज बक्स, साइबर स्पेस तथा भर्चुअलजस्ता शब्दहरूको प्रयोग गर्नु, च्याट गर्नु, इमेल गर्नु, अनलाइन बस्नु, नेटवर्किङ गर्नु, साइबर विडो बन्नु तथा साइबोर्ग चरित्र देखाउनुलाई नै मुख्य रीत मानिने हुनाले नै साइबर संस्कृतियुक्त यस्ता कथाको काल्पनिक मस्तसंसार बनेको हुन्छ ।
साइबर कथाहरूको सामाजिक प्रभाव पनि उसकै संस्कृतिबाट पोषित हुन्छ । थानथपना, पूजाआजा, दानधर्म, चाडपर्व र लोक संस्कारजस्ता कुरालाई साइबर समयचेतनाले डेटस्पायर मानेझैं प्रतीत हुन्छ । भूतप्रेत अब भाइरस बन्छ, प्रेमी साइबर विडो अनि फटाहा ह्याकर !

साइबर संस्कृतिको परिसीमा नै सिँगो पृथ्वी भएकोले भूमण्डलीकरणको प्रभाव यस्ताखाले कथाको विशेषताभित्र पर्छ । डायस्पोरिक चेतनाका प्राकृतिक सम्बाहक साइबर कथाहरू नै बनेका छन् । अब हुलाक र कटुवालभन्दा इमेल र म्यासेन्जरहरू बलिया बनिसके । अनलाइन कथा हजारौंले पढिसक्दा पनि छापा र साहित्यिक पत्रिकामा पठाएका कथा लाइनमा कुरिरहेका हुन्छन् । हो, तीव्र प्रवाह साइबर संस्कृतिको सकारात्मक पहिचान यही हो, जीवनभन्दा तीव्र! त्यसैले यस्तो प्रकृतिका कथाहरू पनि सूचनाप्रविधिमाथिको पूर्ण भरोसामा केन्द्रित देखिन्छन् । विवेकभन्दा बढी विश्वास छ बिजुलीमा आजको पुस्तालाई । दशमा पाँच जोड्न्पर्दा पनि क्यालकुलेटर निकाल्ने आजको युग । केही याद छैन, जे छ मोबाइल जान्दछ । आफू रित्तै गोजीबाट फोन गायब हुनासाथ सातो जान्छ, मरेजस्तो हुन्छ मान्छे । स्वास्नी र लोग्ने अआफ्ना प्रेमीहरूसँग घन्टौं भुलिरहन्छन् अनलाइनमा । एकआपसका सम्वादहरू कडा सेक्युरिटी कोडका तालाभित्र कैद हुन्छन् । अहो, साइबर संस्कृतिको यो उधुम, यो चटक !

समकालीन कथामा साइबर–प्रभावलाई मूल्याङ्कन गर्दा सांस्कृतिक रूपमा पक्कै दुईप्रकृतिको प्रभाव स्पष्ट देख्न सकिन्छ ः सकारात्मक र नकारात्मक । प्रथमतः अधुनातन विश्वसमाजसँगको सामीप्य, पछिल्ला विज्ञान–प्रविधिका कोसेलीहरूको उपभोगबाट विश्वसभ्यतासँग परिचित हुने अवसर, शारीरिक बलमाथि बुद्धिको प्रतिस्थापनका नवीनतम युक्तिहरू, सहज र सरलताका साथ सूचना, ज्ञान, विज्ञापन र मनोरञ्जनको एकै बसाइमा प्राप्तिजस्ता अनेकौं सकारात्मक पक्षमाथि आफू हराएर यन्त्रको अवतारमा मस्तराम हुँदै मानसिक एकाकीपन र सामाजिक सम्बन्धहरूबाट स्खलनको डरलाग्लो रोगको डढेलो सल्कँदै गएको पक्ष चाहिँ भुल्नै नहुने बनेको छ ।
साइबरप्रविधिको प्रयोग गरेर अनलाइन छापिने कथाहरूमा मात्र नभएर आजका अन्य कथाहरूमा पनि समकालीन सूचनाप्रविधिको प्रयोग र असल–खराव प्रभावबारेको गभीर विमर्श पाइन्छ । आधुनिक साइबर संस्कृतिसँग राम्रै भिजेर यसका रसबसका अनुभूतिहरूलाई वस्तु, परिवेश र चरित्रका माध्यमले आफ्ना कथाहरूमा प्रयोग गर्ने केही समकालीन कथाकारहरूको नाम लिँदा मञ्जु काँचुली, विश्वम्भर चञ्चल, भाउपन्थी, सन्तोष भट्टराई, ध्रुव सापकोटा तथा किशोर पहाडी, मन्दिरा मधुश्रीलगायत थुप्रै स्रष्टा आउँछन् ।

इमेल ठेगाना नभएको, मोबाइलसम्म नबोक्ने वा फेसबुक नचलाउने अथवा भनौं इन्टरनेटको सबैखाले उपभोगबाट टाढा रहेको स्रष्टाले पनि कालिदासले स्वर्गको बयान गरेझैं साइबर–संसारको काल्पनिक सन्दर्भ आफ्ना कथामा निकै प्रभावकारी रूपमा गर्नसक्ने सैद्धान्तिक अध्ययनबाट प्राप्त क्षमतालाई पनि प्रवृत्तिगत मूल्याङ्कनको एउटा पाटो मान्न सकिन्छ, तर साइबर–संसारको भुक्तभोगी स्रष्टाले कथामा सांस्कृतिक प्रभावको जीवन्त प्रस्तुति दिन्छ । प्रस्तुत सन्दर्भ नै प्रविधिको प्रयोगबाट स्थापित सांस्कृतिक चेतनासँग सम्बद्ध भएकोले पौरने ज्ञानभन्दा पौरिने कलालाई साइबर संस्कृतिले अङ्गीकार गर्छ । भर्चुअल दुनियाँको कथामा प्रविधिको समृद्धि र जनजीवनमा यसको प्रभावको रहस्य पाइनु स्वाभाविक हुन्छ । यस्ता कथाहरूमा समकालीन नेपाली कथाको प्रवाह र प्रभाव मात्र नभएर विश्वकथाका समकालीन प्रवृत्ति पनि पाइन्छन्, किनभने साइबरको दुनियाँ सबैको साझे दुनियाँ बनेको छ ।

अवास्तविक यथार्थ (भर्चुअल रियालिटी)–लाई आत्मा मान्ने साइबर संस्कृतिले सत्य र यथार्थलाई पनि अवास्तविक, भ्रमपूर्ण र काल्पनिक बनाएको हुनाले हामी निकै गम्भीर मोडमा उभिएका छौं आज । यो दुनियाँ जहाँ अवास्तव नै वास्तव लागिरहन्छ र जहाँ समाज, संगठन, सत्य, सम्वाद,सिकाइ, समर्थन, विरोध, माया, दया, दान, धर्म, बहादुरीजस्ता सम्पूर्ण मानवीय क्रियाकलापहरू नै भर्चुअल अथवा अवास्तव काँचे परिवेशमा सम्पादन गरिन्छन् । यसले आजको मानिसलाई परम्परा, नैतिकता, इमान र सक्रिय भौतिक संलग्नताबाट निकै टाढा पु¥याएरहेको छ । कथा पनि समाजकै प्रतिबिम्बन न हो, यसमा पनि आँखा र मनको सत्य जो उद्घाटित गर्छ स्रष्टाले । त्यसैले कथामा मात्र हैन समग्र साहित्यमा हस्तक्षेपका साथ उभिन लागेको साइबर–सुरसाबारे समीक्षक प्रा.डा. गोविन्दराज भट्टराई पनि निकै चिन्तित हुँदै वस्तुसत्यको आँकलन गर्छन्—‘अब उप्रान्त हाम्रा सत्यहरू भर्चुअल हुने हुन् अवास्तविक । तर, हामी ती रबरका थुन चुसिरहन्छौं, दुध आउँदैन तापनि चुस्ताचुस्ता निदाउने छौं । निदाइरहेकै छन् सबै जगत् टिभी स्क्रिनमा डुबेको हेर्नु, कम्प्युटर स्क्रिनमा, ल्याप टपमा, डिभिडिमा एक्लै घन्टौं रमाएको, डुबेको, हराएको । अलिकति विश्वास छ, अलिकति अविश्वास, तर त्यसैले हामी तानिएका छौं ।’

अबको युग सूचना र प्रविधिमैत्री अवश्य । हामी समयका उपहार फालेर समयकै परिहासका पात्र बन्न सक्दैनौं । आजका कथा त आधार मात्र हुन् समयको मूल्याङ्कनका लागि । हाम्रो साहित्य विश्वस्तरसम्म पुग्ने भ¥याङ यही हो । यसलाई सचेत ढङ्गले उपयोग गर्नुपर्छ । समाज रूढ मान्यताहरूबाट अलि ग्रस्त पनि छ हाम्रो । त्यसैले प्रविधिको उपयोगभन्दा बढी दुपयोगले हामी भीतप्राय छौं । चेतना मैनाचरी हैन, पिँजरामा हुर्केर गाउने, बोल्ने । अबका पुस्ता हाम्रा छोराछोरी, नातिनातिना मात्र रहेनन् बरु विश्वमानव–परिवारको एउटा अस्तित्वशाली सदस्य पनि हो । उसमा स्वत्व र अस्तित्वको विवेक परम्परा र हाम्रो माटोको आस्था हामीले दिनसक्नुपर्छ, बस् रुनु निरर्थक छ अब । सङ्कीर्ण विचारले हामीलाइ नै खान्छ । हामी पिरैपिरले झन् कमजोर बन्छौं । पुँजीवादका उपहार भनेर मात्र हैन विज्ञान र प्रविधिका उपहार मानेर, मानवीय चेतनाका उच्चतम उपलब्धी मानेर दुनियाासँगको हाम्रो सामाजिक सांस्कृतिक संयोजनले हाम्रै परिचय र पहिचान कायम गराउन सक्ने इरादाले आजका बिजुली–कर्मप्रति सकारात्मक बन्ने सन्देश लिन अपरिहार्य छ ।

समाप्त

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved