वराहक्षेत्र / माझी जातिले मङ्गलबार १५ औँ कोशी पूजा मनाएका छन् । सोमबार राति घर–घरमा दीपावली मनाएका उनीहरूले मङ्गलबार कोशी किनारमा भेला भएर पूजा–अर्चना गर्दै बलि दिए ।
वराहक्षेत्र नगरपालिकास्थित सप्तकोशीमा आयोजना भएको पूजा नेपाल माझी उत्थान सङ्घ सुनसरीले आयोजना गरेको हो । आदिवासी जनजातिका रूपमा सूचीकृत माझी जातिले नदी पूजाको रूपमा हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार कोशीमा मनाउने गरेको छ । उनीहरूले कोशीबाहेक अन्य नदी, ताल, तलाउमा पनि पूजा गरी पुख्र्यौली पेशा नाउ चलाउँदा र माछा मार्दा कुनै भवितव्य नहोस् भनेर भाकल गर्ने गर्छन् । यस क्रममा भैँसी, सुङ्गुर, हाँस, कुखुरा र खसीको पञ्चबलि दिने प्रचलन रहेको सङ्घका केन्द्रीय महासचिव पदम माझीले बताए ।
वराहक्षेत्र–२ स्थित सिसौली घाटमा आयोजित पूजामा सुनसरी र वरपरबाट सयौँ माझी परिवार उपस्थित भएका थिए । सङ्घका सुनसरी अध्यक्ष घनश्याम माझीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमका प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल थिए ।
फागुनको तेस्रो सोमबार दीपावली, मङ्गलबार पूजा र बुधबार मझेस्वा गरी तीन दिनसम्म मनाउने प्रचलन रहेको मूल पुजारी भीमबहादुर माझीले जनाए । उनका अनुसार सप्तकोशी देवीलाई सम्झेर सुनसरी, मोरङ, उदयपुरलगायतका क्षेत्रबाट माझीहरू यहाँ पूजा गर्न आउने गरेका छन् ।
