धरान वाईवाई नेपाल स्टारका उपविजेता सन्देश बमजन लामाले आफूलाई उपविजेता बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
धरान–२ को वराह किचनमा बुधबार आयोजित कार्यक्रममा उनले सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका हुन् । गत वर्ष माघ १७ गते अडिसन दिएर वाईवाई स्टारको यात्रा प्रारम्भ गरेका लामा माघ १७ गते नै उपविजेता बन्न सफल भए ।
कार्यक्रममा उनले जितसँगै थप जिम्मेवारीसमेत बढेको बताउँदै आफूलाई उपविजेता बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने व्यक्ति तथा सङ्घ–संस्थालाई धन्यवाद दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि वराह ग्रुपका अध्यक्ष तथा गायक शिव लामिछानेले लामालाई बधाई दिँदै आगामी दिनमा साङ्गीतिक क्षेत्रलाई व्यावसायिक रूपमा अझै अगाडि बढाउन सुझावसमेत दिएका थिए ।
त्यस्तै, सन्देश बमजन लामा जिताऊँ अभियानका संयोजक, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष तथा नेकपाका धरान नगर अध्यक्ष नारायण सुवेदीलगायतले उनलाई बधाई दिएका थिए ।
कार्यक्रमका अध्यक्ष लामाका बुबा पशुपति तामाङले यो जित सन्देशको मात्र नभएर सिङ्गो देश र धरानेको जित भएको बताएका थिए । उनले पनि सहयोग गर्ने सञ्चारकर्मी, सङ्घ–संस्था र व्यक्तिहरूलाई धन्यवाद दिँदै आगामी दिनमा थप सहयोग र हौसला प्रदान गर्न आग्रहसमेत गरे ।
नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् भने लक्ष्मण लिम्बू, सुरेश लामा र सन्देश लामा उपविजेता बन्न सफल भएका छन् ।