बिराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरूद्ध यहाँका प्रबुद्ध नागरिक एकजुट भएका छन्।
वाम बुद्धिजीवी एवम् प्राध्यापक कृष्ण पोखरेलको नेतृत्वमा प्रबुद्ध नागरिक अभियान समितिका नाममा सङ्गठित भई अभियान सुरु गरिएको हो। समितिले बुधबार महेन्द्र चोकमा सडकमै पत्रकार सम्मेलन गरी ओलीको कदमले लोकतन्त्र समाप्त हुने खतरा भएको बताएको छ।
समितिमा विभिन्न पेशाका एक सय नौजना सदस्य छन्।समितिले प्रतिनिधिसभा विघटनविरूद्ध विचार गोष्ठी,विरोध जुलुस, धर्नालगायतका कार्यक्रम गर्ने जानकारी दिँदै संयोजक प्रा पोखरेलले भने, ‘सत्य र असत्य, न्याय र अन्याय तथा इमान र बेइमानका बीचमा लडाइँ हो।
अब पेशाकर्मी बौद्धिक नागरिकहरू चूप लागेर बस्नु हुँदैन।’ उनले व्यक्ति केपी ओलीले कोठाभित्र बोल्दा जेसुकै बोले पनि प्रधानमन्त्रीका हैसियतबाट बोल्दा होस पु¥याउनुपर्ने बताए।
आफ्नै दम्भ र निरङ्कुश प्रवृत्तिका कारण दलभित्रको मतभेद व्यवस्थापन गर्न नसकेर ओलीले असंवैधानिक ढङ्गले हठात् प्रतिनिधिसभा विघटन गरेको पोखरेलको भनाइ छ। अर्थशास्त्री प्राडा पीके झाले कामचलाउ सरकारले मन्त्रिमण्डल विस्तार गर्न नपाउने जिकीर गर्दै ओली स्वेच्छाचारी भएको धारणा राखे।
झाले छिमेकी चीन र भारत विश्वमै ठूला आर्थिक साम्राज्य भइरहेका बेला ओलीले नेपालमा निम्त्याएको अस्थिरताले यहाँ ठूलो आर्थिक उथलपुथल हुने जिकीर गरे।
सो अवसरमा पत्रकार महासङ्घका मोरङ अध्यक्ष बन्धु पोखरेलले जोकर बोल्दैछन् कि प्रधानमन्त्री भनेर छुट्याउन संवाददाताहरूलाई गाह्रो पर्न थालेको उल्लेख गरे।
कानुन व्यवसायी मेदनी सेढाईंले ओलीको कदम असंवैधानिक भएको टिप्पणी गरे।