विद्यालय टाढा भएका विद्यार्थीले साइकल पाउँदा फुरुङ्ग

  • मंसिर १२, २०७७
  • नवराज विष्ट
alt

बराहक्षेत्र । बिहीबार पवित्रा मगरको मन फुरुङ् थियो । फुरुङ्ग मन लिएर झण्डै २ घण्टा हिंडेको पनि पत्तो पाइनन् । हिंड्दै चम्पापुर आइपुगिन् । त्यहाँ एकघण्टा हिउँदे घाममा उभिइन् । सामाजिक कार्यकर्ता बोलेको सुनिन् । राजनीतिक दलका नेता बोलेको सुनिन् । वडाध्यक्ष बोलेको सुनिन् । मेयर बोलेको सुनिन् । सांसद बोलेको सुनिन् । सबै बोलिसके पछि फुरुङ्ग भएको उनको मन झनै फुरुङ्ग भयो ।

उनलाई १ घण्टा भन्दा बढी हिंडेर विद्यालय आउनुपर्छ । कोशी नदी उकास श्रीलंकाटप्पुस्थित चिलैयाबाट बेलका ९ स्थित कमलाबारी आइपुग्न लाग्ने समय हो यो । कक्षा ८ मा पढ्छिन् पवित्रा । बिहान परिवारका सबै सदस्यलाई खाना बनाएर मात्रै उनको फुर्सद निस्कन्छ । ‘खाना खाएर ८ बजेर ५७ मिनेटमा हिंड्छु, र घण्टी लाग्दा स्कुल आइपुग्छु,’ पवित्रा भन्छिन् ‘केही गरी ढिलो भयो, नत्र ढिलो हिंडियो भने स्कुलै छुट्छ ।’

पवित्राजस्तै बेलका नगरपालिका ढाक्रे र बरबोटे लगायतका क्षेत्रबाट समेत विद्यार्थीलाई विद्यालय आइपुग्न १ घण्टाभन्दा बढी लाग्छ । ‘हामीलाई त एक घण्टाभन्दा बढी नै लाग्छ,’ ढाक्रेकी सुनिसा राई भन्छिन्, घरको काम सकेर आउनुपर्छ, १५–२० जना छौं, दिनैपिछे हिंडिन्छ, केहीजस्तो लाग्दैन ।’
पवित्रा र सुनिसा जस्तै सीता तामाङ, शिक्षा राईलगायत झण्डै २ सय बढी विद्यार्थीको दैनिकी हो यो । नजिकै विद्यालय नहुँदा घण्टौं हिंडेर शिक्षाआर्जन गर्नुपर्ने बाध्यता छ ।

उदयपुरबाट प्रदेश सभाकी सांसद् अम्बिका थापाले गाउँमा विद्यालयको स्थापना गर्दाका अनुभव सुनाउँदै भन्छिन्, ‘नानीहरुलाई पढाउनुपर्छ भन्दा गाउँले सुन्दैनथे, हेर्नुस् आजै तिनै मेयर स्वस्ति थापा छन्, बेलकामा ।

उहाँ ठोक्सिलाको अध्यक्ष हुँदा एकै दिन आठ वटा विद्यालय स्वीकृत गरेर ल्यायौं, खेत खलियानमा हुन्थे नानीहरु, माछा मार्दै गरेका हुन्थे, आज नगरको विकास भएको छ, तर पनि नानीहरुले समस्या भोग्नु परेको छ ।’

बेलका नगरपालिकाले लैङ्गिक हिंसा न्युनीकरणका लागि १६ दिने अभियान संचालन गरेको दोस्रो दिन विद्यालयबाट भौतिक रुपमा टाढा रहेका ९० जना किशोरी विद्यार्थीहरुलाई साइकल प्रदान गरेको छ । ‘नानीहरुको विद्यालय शिक्षामा सहज पहुँच पुर्याउने उद्देश्यले साइकल वितरण गरिएको हो,’ बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापा स्वस्तिले भने, ‘झण्डै नगरमा २ सय बढी बालबालिका भौतिक रुपमा विद्यालय भन्दा टाढा छन्, पहिलो चरणमा ९० जना छात्रालाई साइकल प्रदान गरेका छौं ।’

बेलका ९ स्थित वरपीपल मावि, वडा नं. ८ को कोशी मावि र ८ नम्बर वडाकै महाङ्काली माविका गरि ९० जना विद्यार्थीले प्रतिगोटा ४ हजार ८ सय ३० रुपैयाँ पर्ने साइकल प्राप्त गरे । बेलका नगर सरकारको ४ लाख रुपैयाँ र प्रदेश १ सरकारको विशेष संसदीय कोषको २ लाख रकमबाट साइकल खरिद गरिएको बेलका नगरका शिक्षा शाखा प्रमुख सुनिल निरौलाले जानकारी दिए । ‘विद्यालय व्यवस्थापन समितिले सिफारिस गरेको नामका आधारमा विद्यार्थी छनोट गरिएको हो, यो पहिलो चरणको कार्यक्रम हो थप विद्यार्थीलाई समेत साइकल प्रदान गर्ने नगरको योजना छ ।’ शिक्षा शाखा प्रमुख निरौलाले भने ।

नगरले गुणस्तरीय शिक्षासँगै समय अभाव र अन्य समस्याका कारण विद्यालयसम्म आइपुग्न नसकेका छात्राहरुका लागि साइकल प्रदान गरेको नगरका सल्लाहकार तथा शिक्षा समितिका सदस्य समेत रहेका गणेश बस्नेतले बताए । उनले विद्यार्थीलाई सेनेटरी प्याड लगायतका सामग्री यस अघि नै प्रत्येक विद्यालयमा उपलब्ध गराएको बताए ।

बेलकाका छात्रा विद्यार्थीहरुले सेनेटरी प्याड र साइकल पाए पनि उनीहरुलाई व्यवस्थित स्नान कक्ष र आराम कक्षको आवश्यक्ता छ । प्रायः सबै विद्यालयमा विद्यार्थी बिरामी भएका बेला आराम गर्ने सयन कक्ष त अपेक्षित छ तर पवित्रा, सुनिसा, शिक्षालगायतले बिरामी हुँदा सुत्न मिल्ने ठाउँ नभएको गुनासो गरे । बेलका नगरपालिकामा स्थानीय सरकार संचालन भइसकेपछि अधिकांश विद्यालयहरु प्रविधिमैत्री भइसकेका छन् । ‘सबै विद्यालय नमूना विद्यालय’ निर्माण गर्ने महत्वकांक्षामा छ । विद्यार्थी नानीहरुका समस्यालाई गहिरिएर बुझ्ने र विद्यालयमा आइपर्ने उनीहरुको साना समस्यालाई निराकरण गर्ने नीतिमा लागेको नगर प्रमुख दुर्गाकुमार थापा बताउँछन् ।

लैङ्गिक हिंसाबारे बोल्दै प्रदेश सांसद् अम्बिका थापाले महिलाले प्राप्त गरेको अवसरलाई खेर जान दिन नहुने बताइन् । जनसंख्याका आधारमा महिलाहरुको समानुपातिक, समावेशी सहभागितालाई जोड दिइन् । मेयर थापाले पनि शिक्षा क्षेत्रको लगानीलाई खर्चका रुपमा नबुझ्न नगरवासीलाई अनुरोध गरे ।

महिला अधिकारकर्मी तथा किशोरीहरुको अधिकारका बारेमा वकालत गर्दै आएकी गैरसरकारी संस्था महासंघकी महेश्वरी राईलगायतले महिला अधिकार बारे बोले । नगरका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष मोहन घिमिरेले महिला हिंसा र लैङ्गिक हिंसाबारे वडा तहदेखि नै आफूहरु समीक्षा गर्न तयार रहेको सुनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रअहरु सबैले मञ्चमा गएर आफ्नो धारणा राखे तर पवित्रा लगायतका साना विद्यार्थीहरुले मञ्चसम्म पुग्ने अवसर त पाएनन् तर एउटा अधिकार र अवसर भने प्राप्त गरे । अब नयाँ साइकल चढ्ने र समयमै विद्यालय पुग्ने ।

‘हामी सबै विद्यार्थीहरुको तर्फबाट नगरपालिकालाई धन्यवाद, हाम्रा सरहरुलाई पनि,’ समूहमै अलिक बोल्न नहिच्किचाउने पवित्राले भनिन्, ‘जानेका कुरा त बोल्नै पर्छ नि, हो हामी सबैलाई खुसी लागेको छ, समय बाँच्यो भने धावाधावा गर्नु पर्दैन ।’
सांसद् र मेयरको हातबाट साइकल पाएपछि पवित्राले कार्यक्रमस्थल अगाडिको कालोपत्रे सडकबाट खुट्टा उठाइन र बिस्तारै पाइडलमा टेकिन् । उनको मुहारको कान्तिलाई दाँतबाहिर निस्केको जिब्रोले शोभा दिइरहेको थियो ।

20201126_122300 20201126_144900 20201126_144344 20201126_145324 20201126_134904 20201126_144207

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved