धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उपमहानगरपालिकामा सञ्चालन भएका विविध आयोजनाहरु प्रभावकारी बन्दै गएका छन् ।
कार्यक्रममा सहभागी श्रमिकहरुले थोरै भएपनि रोजगारीको अवसर पाएको र काम सिक्ने अवसर समेत मिलेको प्रतिक्रिया दिएका छन् ।
नेपाल सरकारले २०७५ सालदेखि देशभरका ७५३ स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको थियो ।
धरानमा सो कार्यक्रमअन्तर्गत २०७५ मा वित्तीय सामग्री खरिद तथा व्यवस्थापन गरिएको र २०७६ सालदेखि श्रमिकहरुलाई पारिश्रमिकसहित काम दिन थालिएको हो ।
२०७९ सालमा धरान उपमहानगरपालिकाले उक्त कार्यक्रमलाई रोजगार सेवा केन्द्रको रूपमा स्थापना गरेको थियो । त्यसलाई अझ दिगो बनाउन २०८० सालमा एकीकृत तथा रोजगार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि लागू गरिएको थियो ।
गत आर्थिक वर्ष २०८०/८१ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत धरान–१६ को खैरेनीटार–सिरान पैदलमार्ग निर्माण सम्पन्न भएको छ । उक्त आयोजनामा १२ जना श्रमिकले २६ दिनसम्म काम गरेका थिए ।
त्यस्तै, धरान–४ मा वडा कार्यालय कम्पाउण्ड वाल निर्माणमा १२ श्रमिकले ६० दिनसम्म, देवीगाउँ–हर्दिया किसान सडक स्तरोन्नति आयोजनामा १२ श्रमिकले १४ दिन काम गरेका थिए ।
यसैगरी, धरान–५ मा ५० जना श्रमिकलाई तालिम दिइएको थियो । तालिमपछि सो वडामा स्लाव मर्मत र सभाहल रंगरोगन लगायतका काममा १८ जना श्रमिकले रोजगारी पाए ।
धरानका २० वटै वडामा सञ्चालन भएका यी कार्यक्रमहरु क्रमिक रुपमा प्रभावकारी बन्दै गएका छन् । कार्यक्रमको प्रभावबारे बोल्दै वडा नं. १६ का अध्यक्ष मुरारी भट्टराईले, ‘यो कार्यक्रमले श्रमिकलाई मात्र रोजगारी दिएको होइन, धरानको विकासमा समेत योगदान पुगेको छ,’ भने ।
उपमेयर अइन्द्र विक्रम बेघाले श्रमिकहरुको योगदानलाई उच्च मूल्यांकन गर्दै कार्यक्रमको निरन्तरताका लागि आवश्यक सहयोग जारी रहने बताए ।
धरान उपमहानगरपालिकाले कार्यक्रम अवधिभर काम गरेका श्रमिकहरुलाई सम्मानसमेत गरेको छ । स्थानीय तहबाट सञ्चालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले बेरोजगार युवाहरुलाई केही हदसम्म रोजगारी सिर्जना गरेको देखिएको छ ।