इलाम / बारीमा पाक्ने बाली, वर्ष पछि सुकिलो हुँदै गरेको बाटो होस या बारी ऋतु अनुसारको फेरिएको मौसमले दशै आएको थाहा पाउन कसैलाई क्यालेन्डर चाहिदैन । गाउँ गाउँमा छाउने उमंगले दशै आएको थाहा हुन्छ । त्यसमा पनि बाटोमा हुने बाक्लो ओहोर दोहोर, मेला बजारदेखि पसलहरुको भीड या साप्ताहिक रुपमा लाग्ने हटियाको भीडले पनि थाहा हुन्छ दशै अयो ।
खुलेको आकाश, चाडबाडको मौसम र दशैमा गुञ्जिने मालश्री धुनले दँशैको उमङ्ग थप्छ । बैशाख–जेठदेखिको मनसुनी बर्षा असोज लागेसँगै अन्त्य हुन्छ र खुलेको प्रकृतिले दँशैको संकेत गर्छ ।
नवरात्री शुरु हुँदा नहुँदै ठडिने लिङ्गे पिङ, टोल टोलमा हुने फुटवल, भलिवल, व्याडमिन्टन प्रतियोगिता र यस्तै बाक्लोगरि आयोजना हुने साँस्कृतिक कार्यक्रमले दशैको खुशी बोकेको हुन्छ । दँशै बालबालिका र युुवाहरुको अझै विषेश हुन्छ । घरवाहिर निस्किएर पेसा व्यवसाय गर्ने, अध्यनको लागि शहर पुगेकाहरु दशैमा बालसखासंग रमाईले गर्ने योजना दँशैका लागि साच्छन् । सरकारी या नीजि नोकरीमा हुनेहरु दशैको विदा भइसक्दा घर पुग्ने हतारोमा हुन्छन्, दशैमा आवश्यक सामान जोरजाम गर्न व्यस्त हुन्छन् ।
दशैंमा गाउँ घर, मठमन्दिरको सफाइदेखि प्रत्येकजसोले लिपपोत गरेर आफ्ना घर चिटिक्क पार्छन् । गाउँघरका बाटोहरु दशै शुरु भएपछि मर्मत हुन थाल्छन् । बाक्लो आउजाउ, ठाउँ–ठाउँका पिङ र रोटेपिङ र विभिन्न खेलकुदका प्रतियोगिताले दँशैको मूखमा गाउँघर तथा सहर–बजारलाई तताएको हुन्छ । दशैंका लागि अन्नपात र माछा मासूका लागि खसी–कुखुराको जोहो गर्ने चलन छ । दँशैमा परिवारका चाहाना र आवश्यकता परा गर्न अभिभावक लागेका हुन्छन् । नयाँ लुगा, पत्नीलाई गरगहना, केटाकेटीलाई खेलौनादेखि भान्सा र घरमा आवश्यक सामान जोड्ने समय पनि दशैं नै हो । बालापनमा त झन दशैको बेग्लै मज्जा हुन्छ । दँशैको नयाँ नाना, खेलौना अनि घरमा आएका पाउनालाई देखाउन दँशै शूरु देखिकै योजना सम्झिदा छुट्टै अनुभूति हुन्छ ।
नानीहरू रमाउँदा ठूूलाको मनपनि फुरुङ्ग हुने । केटाकेटीलाई स्कुल जान नपर्ने, घरघर डुलेर टीका लगाइने, मनपर्ने मिठो खान पाइने, त्यसमाथि मामाघरको यात्रा, बसाइ, खानपान, दक्षिणा र साथि सँग मेरो पैसा यति भयो भनेर सूनाउन स्कुल लागेको पहिलो दिनको हतारो ले पनि दँशै केटाकेटीको विशेष पर्व बन्दछ ।
ठूलाको लागि पनि दँशै आफू भन्दा ठूला सँग भेटघाट र आशिर्वाद लिन दँशैनै महत्वपूण रहन्छ । किशोरावस्थामा यो समयमा नयाँ लुगा, जुत्ता र मोटरसाईकल किन्ने योजनामा बाबा मामू साँग घुक्र्याउने चलन पनि छ । परदेशमा हुनेको घर आउने योजना र घरमा भएका परदेशबाट घर आउने दिन गन्दै लामो समयदेखि परदेशीका खानेकुरा साँचेर राख्छन् । बुढेस कालका बा–आमालाई परदेशबाट सन्तान घर फर्कँदाको हर्षले गदगद हुन्छन् । लामो समय सम्म परदेश बसेको छोरा,श्रीमान सँग बसेर दँशै मनाउ नपाउने भएपछि आमा बुबा र श्रीमतीले बेग्लै आनन्द महशुस गर्छन् ।
सहरमा सीमित ठाउँमा रमाएका बालबालिका गाउँ गएर खुला ठाउँमा साथीभाइ र आफन्तसंग खेल्न पाउँदा औधी रमाउँछन् । विदेशमै रहेकाहूरु घर आउन नपाएपनि साथि साथि मिलेर दँशैको रमाईलो गर्ने गर्छन ।
तर यसवर्ष भने दशैको त्यस्तो उमंग छैन । बरु डर त्रास बढि छ । संसारभर फैलिएको कोरोना माहामारीकाले थुप्रैलाई संक्रमित बनाइसकेको छ । कोरोनाको संक्रमण हुनसक्ने चिन्ताले धेरैजना घरैमा थन्किएका छन् । मानिसहरु दँशैको तयारी भन्दापनि कोरोनाको कहरमा छन् । आर्थिक संकट गहिरिदै गएकाले दँशैको मुखमा छाक टार्ने चिन्ताले सताएको छ । गाउँगाउँमा हुने खेलकुद प्रतियोगीता रोकिएको छ ।
मनोरञ्जनका लिङ्गे पीङ लगाउँने जाँगर छैन । सरकारले दशैमा घुमघाम नगर्न अपिल गरिरहेको छ । त्यसैले यो दशैमा सधैको जस्तो उमंग छैन । कोरोनाको कहरले दैशको उमंग फिका बनाइदिएको छ ।