सुनसरी । सरकारले अन्तराष्ट्रिय उडान थप गर्दै आन्तरिक उडानको लागि पनि तयारी भइरहेको जनाएको छ ।
अन्तराष्ट्रिय उडानका लागि पिसिआर रिपोर्ट नेगेटिभ आएका यात्रहरुलाई मात्रै ल्याउने गरि थप उडानको अनुमती दिने निर्णय गरिएको छ भने आन्तरिक उडानका लागि सिसिएमसीमा सचिवालयमा प्रस्ताव पठाइएको जनाएको छ ।
विहिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफल पश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान संख्या थप गर्ने निर्णय भएको हो ।
पर्यटनमन्त्री भट्टराईका अनुसार कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गर्ने समझदारी भएको उनले बताए । त्यस्तै श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने भएको छ ।
अहिले दुई वटा अन्तराष्ट्रिय उडान भइरहेको छ । अन्तराष्ट्रिय उडान थप गर्दा अहिले बढीमा ८ सय को संख्यामा विदेशबाट आइरहेकामा यो संख्या दैनिक तीन हजारसम्म पुग्ने सरकारको अनुमान छ । मन्त्री भट्टराईका अनुसार सुरुमा कोभिड संक्रमित कम भएका हिमाली तथा उच्च पहाडी क्षेत्रबाट उडान सुरु गर्ने विषयमा छलफल भइरहेको छ ।