धरान । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव बोक्न धरानका शव वाहन चालकहरु सहमत भएका छन् ।
धरान उपमहानगरपालिकामा शुक्रबार (आज) बसेको शवचालकहरु सँगैको बैठकमा उनीहरुले सहमती जनाएका छन् । धरान उपमहानगरपालिकामा उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न एउटा पुर्ण रुपमा स्टेण्डबाइ शव वाहन राख्न शव वाहन चालकहरु सहमत भएका हुन् ।
धरान भित्रका संक्रमित व्यक्तिको शव लैजानु पर्दा सबै व्यवस्थापन उपहानगरपालिकाले गर्ने र बाहिरको शव लैजानु पर्ने अवश्थामा चालकको सम्पुर्ण व्यवस्थापन प्रदेश सरकारबाट हुने भए पछि उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव बोक्न तयार भएका छन् ।
शव वाहनको सवालमा पनि भैपरि आएको अवस्थामा डेडिकेटेड शव बहानले मृतक बोक्ने र पहिला एम्बुलेन्समा लागु गरिएको जसरी १४ दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने र तलब भत्ताको व्यवस्था गर्ने निर्णय भएको छ । संक्रमणको शंका गरिएका व्यक्तिलाई अस्पतालसम्म ल्याउन वा क्वारेन्टिनमा पुुर्याउन भने विगतदेखि नै एम्बुलेन्स वीपी प्रतिष्ठानमा तयारी अवस्थामा राखिने गरिएको छ ।
धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार धरानमा ६ वटा शव वाहन रहेको छ । ती मध्ये कुनैलाई पनि संक्रमितको शव मात्र बोक्ने गाडीको रुपमा भने नतोकिएको उनले बताए । शवलाई पुर्याएर फर्के पछि चालक क्वारेन्टाइनमा बस्ने अवधिको सेवा सुविधा नगर र प्रदेश सरकारबाट व्यवस्था गर्ने निर्णय भएको खतिवडाले बताए । चालकहरुलाई आवश्यक पर्ने पिपिई, मास्क, सेनिटाइजर लगायत पनि व्यवस्थापन गरिने भएको छ ।