विराटनगर । प्रदेश १ मा कोरोना रोग ठिक हुने दर उच्च देखिएको छ । प्रदेश १ मा संक्रमण देखिएकामध्ये ९० प्रतिशत हाराहारीले स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।
प्रदेशमा भारत र तेस्रो देशबाट आएकाहरुमा नै अधिक मात्रामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या थपिने क्रममा समेत कमी आएको र रोग ठिक भई अस्पतालबाट डिस्चार्ज हुने दरसमेत बढेको मन्त्रालयको तथ्यांकले देखाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले संक्रमणलाई समुदायमा फैलनबाट रोक्न सरकार सफल भएको बताएका छन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको छ । जबकी अस्पतालमा उपचारपछि ठिक भई घर फर्कनेको संख्यासमेत बढ्दो क्रममा रहेको छ । हालसम्म ६ सय ४२ जना कोरोना जितेर घर फर्किसकेको समाजिक विकास मन्त्रालयको तथ्यांकले देखाएको छ ।
मन्त्री घिमिरे भन्छन्,“प्रदे १ मा उपचार पाई निको हुनेहरुको संख्या बढ्दो क्रममा रहेकोले यो सकारात्मक पक्ष हो ।” मन्त्रालयका अनुसार हाल आईसोलेसनमा चिकित्कसको निगरानीमा ८८ जना रहेका छन् ।
मन्त्रालयका अनुसार मंगलबार प्रदेश १ बाट एकै पटक ३८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ६ महिला र ७ पुरुष तथा पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ जना पुरुष डिस्चार्ज भएका छन् । मंगलबार ६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा धनकुटाका ३, झापा, सुनसरी र ते¥हथुममा एक एक जना छन ।