धरान / इन्जिनियरिङमा सिमेन्टबाट बनेको संरचनाको आयु ५० वर्ष मानिन्छ । सोही अनुसार हेर्ने हो भने, अहिले कोशी व्यारेजको आयु समाप्त भइसकेको छ । करिब ८ वर्ष अघिनै सप्तकोशी नदीमा बनेको कोशी ब्यारेजको आयु सकिसकेको हो । पुरानो हुँदै गएका कारण पनि अहिले कोशी ब्यारेज जिर्ण हुँदै गएका छ । पछिल्लो समय निरन्तर आएको वर्षाका कारण पुलनै उच्च जोखिममा रहेको छ । ब्यारेजको जिर्णोद्वारमा कसैको पनि ध्यान पुग्न सकेको देखिन्दैन् ।
सन् १९५४ मा भएको कोशी सम्झौता अनुसार कोशी नदीमाथि ब्यारेज निर्माण गरिएको हो । नेपाल र भारतबीच भएको उक्त सम्झौताबमोजिम कोशी ब्यारेजको शिलान्यास सन् १९५९ मा भएको थियो । नेपालका तत्कालीन राजा महेन्द्र शाह र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले उक्त ब्यारेजको शिलान्यास गरेका थिए । सन् १९६५ मा राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले संयुक्त रुपमा उक्त ब्यारेज उद्घाटन गरेका थिए । हरेक वर्ष तराईमा बाढी आउँदा कोशीले बिहारलाई नभएर नेपाललाई डुबाउँछ किनकि कोशी नदीमा बनेको ब्यारेज (बाँध) को सम्पूर्ण ताला चाबी भारतको हातमा छ ।
सुनसरी र सप्तरी जिल्लाको नेपाली सिमानामा कोशी ब्यारेज निर्माण गरिएको छ । कोसी ब्यारेज पुलमा सुनसरी तर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा ढोका छन् । सप्तकोशी ब्यारेज पुल भारतको कोलकतास्थित जोसेफ एण्ड जोसेफ कम्पनी लिमिटेडले १० बर्ष लगाएर सन् १९६२ मा निर्माण सम्पन्न गरेको हो । नेपालको सुनसरी र सप्तरी जिल्लामा पर्ने यो ब्यारेज पूर्णतया भारतको नियन्त्रणमा छ । भारततर्फ पानी लगिएको च्यानलको नियमित सरसफाइ गरिन्छ । तर, नेपाल तर्फको क्षेत्रको जिर्णोद्धार र सफाइमा भने खासै वास्ता गरिदैन ।
कोशी नेपालको तर त्यसको ताला चाबी चै भारतको रहेकाले नै पनि यस अघिको ड्याम फुटेको नेकपा क्रान्तिकारी माओवादीका प्राकृतिक स्रोतसाधन तथा जलस्रोत विभागका केन्द्रिय सदस्य गणेश कटवाल बताउँछन् । उनले भने, ‘पटक पटक भारतले नै यो विषयमा दुख दिने गरेको छ, चाबी पनि उसैको छ, मर्मत गर्ने जिम्मा पनि उसैको हो, तर त्यो गरेको छैन्, त्यो हेपाहा प्रवृत्ति हो, यसमा नेपाल पनि केही बोलेको छैन् । भारत संग डोमिनेट भएर बसेको छ ।’ भारतकै हेपाहा प्रवृत्तिका कारण कोशी ब्यारेजले दुख दिने समस्यामा स्थानीयले सास्ती भोग्नु परिरहेकाले सरकारकै पहलमा भारतलाई दबाब दिनुपर्ने उनको भनाई छ ।
नौ लाख ५० हजार क्यूसेक पानीको क्षमता भएपनि पछिल्लो समय नदिको सतहमा बालुवा थुप्रिएका कारण बहाव धान्न सक्ने क्षमता पनि क्षीण हुँदै गएको छ । सप्तकोशीमा पानीको बहाव बढ्दै गए पछि भारतीय पक्ष सँग सप्तकोशीको ढोका खोल्न नेपालले बारम्बार अनुरोध गर्नुपर्ने बाध्यता रहेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल बताउँछन् ।
कोशी ब्यारेज जीर्ण हुँदै गएकाले पानीको बहावले पुलमै पनि असर गर्दै गएको छ । नेपाल सरकारले पुलको जोखिमप्रति गम्भीर बन्दै भारतलाई समयमै जिम्मेवार बनाएर पुलको प्राविधिक जाँच र मर्मत संभारमा ध्यान दिन आवश्यक देखिएको छ ।