विराटनगर । कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का दुई स्थानमा थप पीसीआर ल्याब स्थापना गर्ने सरकारले निर्णय गरेको छ । प्रदेश सरकारले यसअघि नै तयारी थालेपनि संघीय सरकारले यसबारे आज प्रस्ट्याएको छ ।
देशभर सरकारले थप १० वटा नयाँ प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने तय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका प्रयोगशालाहरूमा प्रदेश १ को मेची अस्पताल र धनकुटा जिल्ला अस्पताल रहेका छन् ।
पहाडी क्षेत्रमा कोरोना अस्पताल नै संचालन गर्न सांसदले प्रदेश १ को संसदमा माग उठाउँदै आएकोमा धनकुटामा ल्याब भने संचालन हुने भएको हो ।
यसबाहेक दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा नयाँ पीसीआर ल्याब संचालनमा आउने छन् ।
गत बुधबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित सरोकारवालाहरूको बैठकले नयाँ प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो ।
प्रदेश १ को मेची अस्पताल र अर्को कुनै एक ठाउँमा पीसीआर ल्याब संचालन गर्नेबारे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सदनलाई जानकारी गराएका थिए ।
अहिले देशभर रहेका २१ वटा प्रयोगशालाबाट दैनिक ५ हजार जनाको कोरोना परीक्षण हुँदै आएको छ । प्रदेश १ मा दैनिक २ हजार जनाको परीक्षण गर्ने तयारीमा सरकारले रहेको मन्त्री आङ्बोले जनाएका छन् ।