विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ संसदको आजको बैठक अवरुद्ध गरेको छ । काठमाडौबाट बाहिर बस्ने नागरिकलाई काठमाडौ प्रवेशमा गरिंदै आएको रोकको विरोध र प्रदेश सरकारले संघीय सरकारसंग आफ्ना भनाई राख्न नसकेको लगायत विषय उठाउँदै प्रमुख विपक्षी कांग्रेसले सदन अवरुद्ध गरेको हो ।
संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका छन् ।
सभामुख प्रदिपकुमार भण्डारीले प्रमुख विपक्षीलाई समय दिएर आफ्ना कुरा राख्न आग्रह गरेपछि प्रमुख सचेतक केदार कार्कीले कांग्रेसका माग सदनमा प्रस्तुत गरेका छन् ।
कार्कीले प्रश्न गर्दै भने,“हामी कुन दर्जाको नागरिक हो । प्रदेश बन्यो तर प्रदेशले संघीय सरकारसंग झगडा गर्न सक्दैनन् । काठमाडौ जान पर्दा नाकाबाट मानिसलाई फर्खाइन्छ । काठमाडौं मुटु भनेर मान्यौ, राजधानी भन्यौं तर काठमाडौबाट जो पनि सिअिडोको पासमा आउन सक्छ । तर, काठमाडौ जान केको रोक । अब काठमाडौलाई नाकाबन्दी गर्ने अभियान छ ।
किन प्रदेश सरकार बोल्न सक्दैन ?” प्रदेश सरकारले यसबारे जानकारी दिनुपर्ने भन्दै कार्कीले प्रदेश १ सरकारले पिसीआर टेस्टमा भएको खर्च सदनमा जानकारी गराउनु पर्ने माग गरे ।
मुख्यमन्त्री शेरधन राईलेले कोरोनासंग लड्दैछौं भनेर भिडियोमा मात्र भन्ने गर्नु भएको तर, सदनमा आएर हिसाब सार्वजनिक गर्नुपर्ने प्रमुख सचेतक कार्कीले माग राखे ।
“प्रदेशको नाम ल्याउँछौं भनिएको थियो तर प्रतिबद्धताअनुसार नाम आएन । यातायात व्यवसायीको दुखेसको सरकारले सुन्ने कि नसुन्ने? मजदुरलाई रोजगारी दिने विषयमा किन बोल्दैन । संसदको सवालमा बोल्दैन,” कार्कीले भने, “शुन्य समय र विशेष समयमा उठाइएका विषयमा जवाफ दिनुपर्छ ।
आन्तरिक मामिला मन्त्रालयका सचिव पनि सिडिओको पास लिएर काठमाडौं जानुपर्छ । सिडियो सरकारको मातहत हो कि के हो ?” कार्कीले जनता प्रति कति उत्तरदायी छौं प्रतिबद्धता जनाउनु पर्छ ।
मुख्यमन्त्रीले सदनमा प्रस्ट नपराउन्जेल सदनलाई अवरोध गर्ने बताए । संसद बैठक मंगलबार १ बजेसम्मको लागि स्थगन भएको छ ।