धरान । नगरसभाको मिति नजिकिदै गए पछि धरान उपमहानगरपालिकामा नगरसभाको विवाद चुलिदै गएको छ ।
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले नगरसभाको प्रक्रिया नै पुरा नगरी नगरसभाको तयारी गरेको भन्दै वडाअध्यक्षहरुले आक्रोशित बन्दै गएका छन् । आइतबार वडाअध्यक्षहरुको टोलिले बजेटको सिलिङ पठाउन माग गरेका छन् भने अर्को तिर प्रक्रिया नै पुरा नगरी नगरसभाको तयारी गरेको भन्दै आक्रोशित बनेका छन् ।
उनीहरुले सबै बजेट नगर केन्द्रित गर्दै वडाहरुको बजेट कटौती गरेको आरोप लगाएका छन् । अघिल्ला वर्षहरुमा विनियोजित हुँदै आएको बजेट यस वर्ष ५० प्रतिशत भन्दा बढी कटौती गरेको वडाअध्यक्षहरुको भनाई छ । उनीहरुका अनुसार अघिल्लो वर्ष २० वटै वडाका लागि २२ करोड ४० लाख रुपैया बजेट विनियोजन गरिएको थियो तर यस वर्ष कटौती गरि १० करोड मात्रै विनियोजन गरी नगरमुखी बजेट ल्याउन लागेको वडा नम्बर ७ का वडाअध्यक्ष जिवनराज सुवेदीले बताए ।
लकडाउनका कारण आन्तरिक स्रोतमा ह्रास आएको भन्दै वडाको बजेट ५० प्रतिशत भन्दा बढी कम गराएर नगरप्रमुखले नगरपालिकाले खर्च गर्न पाउने बजेटमा चै कुनै कटौति नगरेको उनको आरोप छ । उनले भने, ‘लकडाउनले आन्तरिक स्रोत घटाउँदा त्यसको प्रभाव चै मेयरकोष, नगरपालिकाको विभिन्न शाखाहरुका लागि विनियोजित बजेटमा चै पर्दैन र ? वडाको बजेटमा मात्रै पर्ने हो र ? लकडाउनले गर्दा घटेको आय बराबार रुपमा सबै शाखा, मेयरकोषमा पनि घट्नु पर्छ ।’
नगरसभा हुन ३ दिन बाँकी रहँदा पनि वडाहरुमा बजेटको सिलिङ नपठाए पछि वडाअध्यक्षहरुले नगर प्रमुख समक्ष लिखित रुपमै सिलिङ पठाउन माग गरेका छन् । धरानका वडा नम्बर १७, १५, १, २, ५, १४ र १८ बाहेक अन्य सबै वडाहरुले छुट्टा छुट्टै माग पत्र आइतबार नगर प्रमुखलाई बुझाएका हुन् ।
नगरसभाको लागि ५ वटा प्रक्रिया पुरा गरेर मात्रै सभा बोलाइन्छ तर नगरप्रमुख राईले एउटा प्रक्रिया मात्रै पुरा गरेको वडा नम्बर १७ का वडा अध्यक्ष मनोज भट्टराई बताउँछन् । उनका अनुसार पहिलो प्रक्रिया भनेको उपमेयरको संयोजकत्वमा बनेको राजस्व परामर्श समितीले प्रक्षेपण गरेको आन्तरिक स्रोत हो । त्यस पछि प्रमुखको संयोजकत्वमा बनेको स्रोत अनुमान समितीले वडा लगायत नगरको विषयगत समितीहरुमा बजेट सिलिङ पठाए पछि उनीहरुबाट ब्रेक डाउन भएर आए पछि मात्रै योजना तर्जुमा समितीमा गएर त्यस पछि छलफल पछि कार्यपालिका बैठकले अनुमोदन गरेर मात्रै नगरसभामा प्रस्तुत हुनुपर्छ ।
तर प्रमुख राईले पहिलो चरण मात्रै पुरा गरेर बाँकीका ४ वटा प्रक्रिया पुरा नगरेको उनले बताए । स्रोत अनुमान समितीका सदस्य समेत रहेका वडाअध्यक्ष भट्टराईले मेयरसाबले कुनै पनि छलफल नगरे पछि हामी आफैले स्रोत अनुमानको सुझाव पेश गरेको बताए । खानेपानी संस्थानलाई बोर्डमा गाभे पछि १० करोड रुपैया फिर्ता आउने भएकाले त्यो पनि आन्तरिक स्रोतमै गाभ्नु पर्ने सुझाव दिएको उनले बताए ।
यता धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले कोरोनाले केही असर गरेको हुँदा अघिल्लो समय जस्तो बजेट नहुने बताए । आन्तरिक स्रोत घटेका कारण यस वर्षको बजेट पनि कम हुने उनको भनाई छ । वडाअध्यक्षहरुले नगरसभामा बजेटको अंक पनि लानु पर्छ भनेर सुझाव दिएकाले छलफल गरिने उनले बताए । उनले भने, ‘क्रमागत बजेटमा २० करोड विनियोजन गर्नु पर्ने भएकाले नयाँ योजनामा बजेट कम हुन्छ, समयमै छलफल भएर नगरसभाको तयारीमा लागेका छौं ।’