सुनसरी । सुनसरीको विभिन्न नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाहरु आफ्नो अगामी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको छ ।
संवैधानिक व्यवस्था अनुसार कोरोनाको कहरका बीच समेत वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले बताउनुभयो । न्यौपानेले पालिकाको गाउँ सभाबाट वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने भएकाले त्यसको तयारी स्वरुप प्रत्येक वडामा ५० लाखको बजेट सिलिगं दिएर योजना माग गरेर वडाहरुबाट काम सुरु भएको जानकारी दिनुभयो । देवानगञ्जले करिव ३३ करोडको हाराहारीमा बजेट ल्याउने तयारीमा जुटेको न्यौपानेले जानकारी दिनुभयो ।
पालिकाका अध्यक्ष लालीप्रसाद मेहताले सीमावर्ती क्षेत्रको गाउँ भएकाले विकाससगैं यसपालीको बजेट कृषि र स्वास्थ्य मुखी हुने बताउनुभयो । वहाँले वडाहरुबाट आवश्यकताका आधारमा योजनाहरु वडा अध्यक्षहरुले ल्याउने क्रममा रहेको र प्राथमिकताका आधारमा काम हुने गरी संवैधानिक व्यवस्था अनुसार बजेट,नीति तथा कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।
उता हरिनगर गाउँपालिकाले समेत आफ्नो गाउँ सभाबाट वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउने अन्तिम तयारीमा जुटेको अध्यक्ष गफार अंसारी मियाँले जानकारी दिनुभयो । अन्सारीले स्वास्थ्य सुरक्षा, कृषि, शिक्षा र स्वरोजगारमुखी बजेट ल्याउने प्रयासमा जुटेको बताउनुभयो ।
त्यसैगरी कोशी गाउँपालिकाले समेत संवैधानिक व्यवस्था अनुसार असार १० गते आफ्नो वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको अध्यक्ष ऐयुव अंसारीले बताउनुभयो । कोशीका ८ वटै वडाबाट आएका योजनाहरु सहित पालिका र संघीय तथा प्रदेशबाट सम्पन्न गर्ने योजनाहरुको छनौट गरि आफ्नो गाउँ सभाबाट वार्षिक बजेट नीति, कार्यक्रम ल्याउने तयारीमा जुटेको अंसारीले जानकारी दिनुभयो । कोशीमा करिव ३१ करोड १० लाखको हाराहारीमा बजेट ल्याउने तयारीमा जुटेको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीले जानकारी दिनुभयो । उता सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपािलका, दुहवी नगरपािलका, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, वर्जु, गढी सहितका ६ वटा गाउँपालिका, चार नगरपालिका र दुई उपमहानगरपालिका गरि १२ पालिकाहरु वजेटको तयारीमा जुटेको जनाएको छ ।
यसैबीच सनिबार इटहरी उपमहानगरले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमका बारेमा सुझाव सङ्कलन गरेको छ । बजेट तथा योजना तर्जुमा समितिले विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग छलफल गरी सुझाव लिएको हो । समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार विज्ञ सल्लाहकार, नागरिक समाज, आदिवासी जनजाति, पिछडा वर्ग, दलित समुदाय, महिला सञ्जाल सँग छलफल गरी सुझाव सङ्कलन गरिएको छ ।
यसैगरी एकल महिला, अपाङ्गता भएकाहरू, कलाकार, साहित्यकार, पत्रकार, युवा उद्यमीहरूको सुझाव लिइएको छ । आगामी आर्थिक वर्षको बजेटमा क्षमता अभिवृद्धि भन्दा पनि उत्पादन र आयआर्जनसँग जोडने खालका कार्यक्रमहरूलाई उपमहानगरले प्राथमिकता दिने भएको छ । त्यस्ता के के कार्यक्रम कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण सुझावहरू प्राप्त भएको उपमेयर गौतमले बताउनुभयो ।