इटहरी । प्रदेश एकको मुख्य ब्यापारीक केन्द्र इटहरीमा लकडाउन खुकुलो बनाएसंगै कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ ।
दैनिक व्यापार व्यवसायहरू खुल्ला गरिएसंगै स्थानीयहरूको बढदो भिड अहिले नियन्त्रण बाहिर पुगेको छ ।
अव्यवस्थीत बजारले बढाएको जोखिम र थेग्नै नसकिने गरी देखिएको स्थानीयको भिडले कोरोना भाइरस संक्रमण फैलिने खतरा देखिएको हो । हाल इटहरीमा सबै प्रकारका व्यापार व्यावसाय खुल्ला गरिएका छन भने शैक्षिक संस्थाहरू, ट्युसन सेन्टर , इन्स्टिच्युट, धार्मिक कार्यक्रम लगायत सभाहरू गर्न दिइएको छैन ।
खुल्ला गरिएका बजारहरूमा सम्बन्धित निकायले नियमित अनुगमन नगर्दा पछिल्लो समय इटहरी पनि कोरोना भाइरसको उच्च जोखिममा पर्ने खतरा बढदै गएको छ । बजार खुल्ला गरिएपनि प्रत्येक ब्यवसायीले आ–आफ्नो पसल अगाडी अनिवार्य रूपमा हात धुने साबुन पानी र सेनीटाइजर राख्नुपर्ने उद्योग वाणिज्य संघ र इटहरी उपमहानगरले नियम नै बनाएको थियो तर नियमित अनुगमन नहँुदा धेरै जसो व्यवसायीहरूले नियमको पालना गरेका छैनन ।
सामाजिक दुरी कायम नगरी खुल्ला रूपमा पसल थाप्ने ब्यापारीहरूले अब्यवस्थित बजारलाइ थप बढावा दिदै इटहरीमा कोरोना भाइरस संक्रमण फैलाउने खतरा बढाएका छन ।
अहिले मास्कको प्रयोग गर्नेहरूको संख्या पनि घटदै गएको पाइन्छ । इटहरी क्षेत्रमा खुलेका अधिकांश व्यवसायका सञ्चालकहरूले कोरोना भाइरसबाट बच्नको लागि सामाजिक दुरी समेत कायम नगरी व्यवसाय सुचारू गरेको प्रस्ट देखिएको छ ।
इटहरी हटिया लाइनमा अवस्थित कपडा व्यवसायी बिसमलाल चौधरीले व्यापार खुलेपनि सेवाग्राहीहरू नआएपछि पसल अघाडी साबुन पानी र सेनिटाइजर नराखेको बताए । तर आफुले प्रयोग गर्नको लागि भने मास्क सेनिटाइजर बोक्ने गरेको बताउँछन् ।
कोरोना भाइरसलाइ इटहरीवासीले सामान्य रूपमा लिदै आएको प्रस्ट देखिन्छ । रोगले समाति हालेपनि छिट्टै निको हुने र खासै प्रभाव नपार्ने जस्ता मानसिकताकै कारण इटहरी अहिले कोरोनाको उच्च जोखिममा परेको देखिएको छ ।
हाल सम्म इटहरी उपमहानगर क्षेत्रमा २ जना कोरोना संक्रमित भेटिएका छन । जसमा इटहरी २ का संक्रमित युवक निको भएर घर फर्किसकेका छन भने इटहरी १८ का एक पुरूषको धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानको आइसोलेसन वार्डमा नियमित उपचार भइरहेको छ ।
यता इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले हालको अवस्थालाइ मध्यनजर गर्दै इटहरीमा लकडाउन केहि मात्रामा खुकुलो बनाइएको बताउदै इटहरीको बजार ब्यवस्थित बनाउने बिषयमा छलफल चलिरहेको बताईन ।
उनले इटहरी क्षेत्र कोरोनाको जोखिममा नरहेकोले अहिले नै आत्तीहाल्नु पर्ने अवस्था नरहेको तर सामाजिक दुरी कायम गर्न र पसल अघाडी साबुन पानी अनिवार्य राख्न प्रत्येक व्यवसायीहरूलाइ अनुरोध गरेको उनको भनाई छ ।
उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलले नियम पालना नगर्ने व्यसवायीहरूको पसल तत्काल बन्द गराउने बताए । सबै पसलहरूमा अनिवार्य रूपमा साबुन पानी र सेनिटाइजर राख्न अनुरोध गरिरहदा पनि अटेर गरे त्यस्ता व्यवसायीहरूलाइ तत्काल बन्द गराउन उद्योग वाणिज्य संघ इटहरी तयार रहेको बताए ।