धनकुटा/ धनकुटा नगरपालिकाले ४२ घरधुरी किसानहरुलाई होम बायो ग्याँस प्रविधि वितरण गरेको छ ।
स्मार्ट भिलेज कार्यक्रम अन्तरगत धनकुटानगरपालिका र यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नगर क्षेत्रका ४२ घरधुरी किसानहरुलाई होम बायो ग्याँस प्रविधि वितरण गरेको हो । धनकुटा नगरपालिकामा नमुना गाँउ बनाउनका लागि स्मार्ट भिलेज कार्यक्रम सञ्चालन भइरहेको छ । सोही कार्यक्रम अन्तरगत कार्बन उत्सर्जन कम गरी वातावरण जोगाई नमुना गाँउ निर्माणका लागि कुहिने फोहोर तथा गोबर प्रयोग गरी ग्याँस उत्पादन गर्न मिल्ने सजिलो प्रबिधि होम बायो ग्याँस प्रबिधि २० लाख बराबरको ९५ प्रतिशत अनुदानमा ४२ वटा होम बायो ग्याँस वितरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । उक्त होम बायो ग्याँस प्रविधि जडानमा सम्बन्धित किसानको ५ प्रतिशत लगानी रहेको छ ।
नमुना गाँउ बनाउने अभियान अन्तरगत धनकुटा नगरमा एक करोड १५ लाख बराबरको स्मार्ट भिलेज कार्यक्रम सञ्चालन भईरहेको छ । होम बायो ग्याँसको प्रयोगबाट किसानलाई दोहोरो फाइदा पुगेको छ । धनकुटा नगरपालिका–१० का कृषक खड्ग बहादुर भट्टराईले नगरको अनुदानमा होम बायो ग्याँस प्रविधि प्रयोग गरेका छन् । परम्परागत गोबर ग्याँस भन्दा बायो ग्याँस चलाउनका सजिलो रहेको कृषक भट्टराईले बताए । उनले भने–‘परम्परागत गोबर ग्याँस बनाउन धेरै खर्चिलो हुनुको साथै गोबर धेरै र घाम लाग्ने ठाउँमा मात्र राम्रोसँग बल्थ्यो । तर होम बायो ग्याँसमा कुहने फोहोर मैला लगाउन मिल्ने र एक बाल्टी गोबर घोलेको पानी दिनमा एक पटक लगाएमा राम्ररी बल्ने गरेको उनले बताए ।’
होम बायो ग्याँस प्रविधि जडान गरेपछि कृषकहरुलाई एल्पी ग्याँस, दाउरा खरिद गर्नु पर्ने खर्च बचत भएको छ । ग्याँस, दाउरा खरिद गर्ने रकमले साँगसब्जीको बीउ खरिद गरेर खेती गर्न सहज भएको किसानहरुले बताएका छन् । त्यतिमात्र हैन बायो ग्याँसबाट निस्किएको प्राङ्गारिक मल अन्नबालीमा मज्जाले लाग्ने भएकाले बाली पनि सप्रिने गरेको र गाईबस्तुको गोबर व्यवस्थापन गरी गुणस्तरिय मल बनाउन अन्य विधि अपनाउनु पर्ने समस्या समेत टरेको धनकुटा नगरपालिका–१ की कृषक बिना तामाङले बताईन् । होम बायो ग्याँस जडान गरेपछि घरको भान्साबाट निस्किएको कुहिने फोहोरमैलाको उचित व्यवस्थापन हुनुको साथै समयको समेत बचत भएको कृषक तामाङको भनाई छ ।