धरान । नगर प्रमुखले समन्वय गर्न नसक्दा धरान उपमहानगरपालिकाको नगरसभा असार १० मा हुन नसक्ने सम्भावना बढ्दै गएको वडाअध्यक्षहरु बताउँछन् ।
नगर प्रमुख तिलक राईले मनोमानी ढंगले आफ्ना योजना तथा निति कार्यक्रमहरु लाद्नका लागि कसै संग पनि समन्वय नगरेको उनीहरुको आरोप छ । नगरसभा गर्ने मिति नजिकिदै गर्दा पनि अझै वडाअध्यक्षहरु सँग कुनै छलफल नै नगरेकाले समयमै नगरसभा नहुने उनीहरुको भनाई छ ।
असार १० गते नगर सभा गर्नका लागि करिब १५ दिन अघिनै वडाका योजनाहरु माग गर्नुपर्ने हुन्छ । नगरले बनाउने निति तथा कार्यक्रमहरुका विषयमा छलफल गरिसक्नुपर्ने थियो, तर अहिले सम्म नगरको आय, नयाँ कार्यक्रमका विषयमा छलफल नै नभएको वडा नम्बर १३ का वडाअध्यक्ष नेत्र काफ्ले बताउँछन् । उनले भने, ‘मेयरसाब अहिले अघिल्लो नेतृत्वले गरेको कामहरुको विषयमा खोजिनिती गरिरहेका छन्, अघिल्लो नगरसभाले गरेका कार्यक्रमहरुलाई अवरोध गर्न लागि रहेका छन्, त्यसैले आगामी वर्षको निती तथा कार्यक्रमहरुको विषयमा कुनै छलफल हुन पाएको छैन् ।’ अहिलेकै अवश्थामा नगरसभा हुन नसक्ने उनको दाबी छ ।
नगरपालिकाको निती तथा कार्यक्रम नगरसभाले पारित गर्छ । नगरसभामा नेकपाको उपमेयर सहित वडाअध्यक्ष र सदस्यहरुको बहुमत छ । त्यसैले अहिले नै मेयरले छलफल नगरि अघि बढे समस्या आउने वडा नम्बर ७ का वडाअध्यक्ष जिवन सुवेदी बताउँछन् । मेयरको एकलौटि ढंगले निति तथा कार्यक्रम लागु गराउन खोज्ने प्रवृत्ति रहेको उनले बताए । उनले भने, ‘कुनै पनि काम समन्वयमा भएको छैन्, शुरुवात देखिनै बाइपास गरेर जान खोज्नुभएको छ, त्यसैले नगरसभामा पनि समस्या आउँछ ।’
उपनिर्वाचनबाट नेपाली कांग्रेसबाट विजयी बनेका मेयर तिलक राईको नेकपाकी उपमेयर मञ्जु भण्डारी सुवेदी संग समन्वय हुन सकेको छैन् । हरेक समय दुवै जना बिचको सम्बन्ध विवादित हुँदै आएको छ । मेयर राईले तय गरेका निति तथा कार्यक्रमहरु नगरसभाबाट पारित गराउँन पनि सम्भव छैन् । त्यसैले पनि छलफल आवश्यक रहेको वडाअध्यक्षहरुको भनाई छ ।
यता मेयर तिलक राईले असार १० को नगर सभाका लागि आवश्यक तयारी शुरु भइसकेको दाबी गरेका छन् । वडाहरुबाट आउने योजनाहरुका विषयमा पनि छलफल भइरहेको उनले बताए । सोमबार मात्रै राजस्व परामर्श समितीले दिएको सिलिङको बारेमा पनि छलफल भइसकेको उनले बताए । समितीले दिएको सिलिङको आधारमा वडाहरुले माग गरे अनुसारको बजेट विनियोजन हुन सक्ने अवश्था नदेखिए पछि केही समस्या आएको उनले बताए । तर समस्या समाधान गरेर असार १० गते नै नगरसभा हुने उनले बताए । कोरोनाको संक्रमण र लकडाउनको कारण आन्तरिक स्रोतमा कमी आउने भएकाले सोचे जस्तो बजेट नआउन सक्ने उनले बताए ।