धरान / पाँचको दशक अघि सम्म धरान रंगकर्म, साहित्य, कलाको लागि देशकै उत्कृष्ठ शहरको रुपमा मानिएको थियो । धरानबाट प्रतिनिधीत्व गर्ने धराने कलाकारहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो शहरको पहिचान छुट्टै पहिचान बनाएका थिए ।
पछिल्लो समय सुस्ताएको धरानको रंगकर्म, कलाकर्म पुनः केही समय अघि देखि जुर्मुराएको छ । धरानमा साहित्यीक कार्यक्रम, नाटक प्रर्दशनले गति लिन थाले पछि धरानमा नाटकघर निर्माणको चर्चा पनि चुलिदै गएको छ । धरान ८ स्थित धरान सभागृहमा करिब २ कट्ठा क्षेत्रफलमा नाटकघर बन्ने भए पछि धरानको रंगकर्मको इतिहास फर्कने अपेक्षा गर्न थालिएको छ ।
धरान स्थित सभागृहमा निर्माण हुन लागेको नाटकघरको स्वागत गर्दै धरानका साहित्यकार, बुद्धिजिवी, कलाकार, रंगकर्मीहरुले खुशी व्यक्त गर्दै रंगकर्ममा धरानको इतिहास पुनर्जन्म गराएको बताएका छन् ।
विभिन्न सामाजिक सञ्जालमा धरानमा निर्माण हुन लागेको नाटकघरको स्वागत गर्दै धरान उपमहानगरपालिकाले समयमै सम्पन्न गर्न समेत आग्रह गरेका छन् । रंगकर्म तथा साहित्यलाई अनुत्पादक क्षेत्रको रुपमा हेरिएको अवश्थामा संघीय संसद जयकुमार राईको निर्वाचन क्षेत्र विकाश कोषबाट विनियोजित ४० लाख रुपैयाबाट नाटकघर निर्माण कार्य शुरु गरिएकोमा बुद्धिजिवीहरुले स्वागत योग्य रहेको बताएका छन् ।
नाटकघर निर्माणको आवश्यकताका लागि धरान उपमहानगरपालिकाले सकारात्मक पहल गर्न कलाकार विक्रम श्री, प्राध्यापक तथा साहित्यकार गोपाल भण्डारी, प्रा.डा. भिम खतिवडा, लेखक तथा अग्रज पत्रकार राजकुमार कार्की, नृत्य निर्देशक गोविन्द राई, साहित्यकार कैलाश कार्की लगायतले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् । उनीहरुले सकारात्मक पहलका लागि ३ मिनेटको भिडियो फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो राय प्रस्तुत गर्दै साहित्यकार तथा वरिष्ठ पत्रकार राजकुमार कार्कीले कला साहित्यको त्रिवेणी मानिने नाटकले धरानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन सफल भएको बताए । नाटकको इतिहास बोकेको धरानमा अहिले सम्म एउटा नाटकघर निर्माण हुन नसक्नु राज्यको दोषपुर्ण दृष्टिको हात रहेको उनको भनाई छ । उनले भने, ‘कलालाई राज्यले जहिल्यै पनि अनुत्पादक क्षेत्रको रुपमा मात्रै हेरेको छ, जसले गर्दा विकाशको परिभाषा भित्र कहिले पनि कला, साहित्य पर्दैन, त्यसैले अहिले धरानमा बन्न लागेको नाटकघरमा पनि यस्तै दृष्टि अपनाउन थालेको भान भइरहेको छ ।’
धरानका रंगकर्मीहरुको पहलमा नाटक घर बन्न लागे पनि धरानकै बौंद्धिक गहनाको रुपमा रहेको उनी बताउँछन् । बन्न लागेको नाटकघरले धरानलाई बौंद्धिक शहरको रुपमा परिचित गराउने कुरा उपमहानगरपालिकाका मेयर, उपमेयरहरुले बुझिदिन उनले आग्रह गरेका छन् । नाटकघर निर्माणलाई नगरपालिकाले नै आफ्नो कार्ययोजनामा पारेर सबै किसिमका व्यवधान हटाएर आफ्नै पहलमा निर्माण कार्य अघि बढाउन उनले आग्रह गरेका छन् ।
मुर्तिकार तथा रंगकर्मी विक्रमश्रीले नाटकघर निर्माण कार्यले धरानको रंगकर्म इतिहासको पुर्नजन्म भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले रंगकर्मी मात्रै नभएर यो विधा संग वरपर रहेका साहित्यीक स्रष्टाहरु, कलाकार, रंगकर्मी, चित्रकार लगायत सबैलाई एकै ठाउँमा र ऐतिहासिक जमर्को र पुनर्मिलन गर्ने अवसर जुटेको बताए । उनले भने, ‘रंगकर्मी श्रष्टाहरुले धरानलाई देश व्यापी बनाएको इतिहास छ, त्यसलाई पुनर्जिवित बनाएको छ, योगदान गर्नेहरु जुटेर अघि बढेको छ, सफलताको लागि कामना गर्दछु, यसका लागि जिम्मेवारीलाई पुर्णरुपमा अघि बढाउने छौं ।’ अन्तराष्ट्रिय स्तरको नाटकघर निर्माण हुने भएकाले प्रदेश नम्बर १ को नाट्यगृहहरु मध्ये यसलाई केन्द्रिकृत गर्ने गरी प्रादेशिक नाटकघर बनाएको उनको भनाई छ ।
त्यसै गरि नेपाल लेखक संघ सुनसरीका अध्यक्ष प्राध्यापक डाक्टर गोपाल भण्डारीले नाटकघर निर्माणको खबरले खुशी रहेको जनाउँदै धेरै पहिले देखिनै नाटकघर हुनुपर्छ भन्दै आवाज उठाउँदै आइरहेको अवश्थामा नयाँ नेतृत्वले सबैको सदासयतामा धरान सभागृह परिषरमा बन्न लागेको नाटकघर सबैको लागि गौरबको विषय रहेको बताए । उनले भने, ‘नाटकघर नहुँदा अभिनय गर्ने ठाउँ नहुँदा स्थानको अभाव रहेको अनुभव भइरहेको थियो, त्यसलाई पुरा गर्न सबैले सहयोगका लागि आग्रह गर्दछु ।’ धरानको सांस्कृतिक, सामाजिक चेतना वृद्धिमा रंगकर्मले ठुलो योगदान पुर्याएको उल्लेख गर्दै प्रा.डा. भण्डारीले अहिलेका कलाकारहरुले पनि परिवर्तनका लागि स्थान पाउनेमा विश्वस्त रहेको बताए ।
त्यस्तै साहित्यकार एवं प्राध्यापक डा. भिम खतिवडाले धरानको समृद्धिका लागि विकाश, भौतिक निर्माण मात्रै पर्याप्त छैन भन्ने हामी सबैले बुझ्नु पर्ने औल्याउँछन् । उनी भन्छन्, ‘संगित, साहित्य, नाट्यकर्महरु समृद्धिका सुचकहरु हुन्, जनचेतनाका सुचकहरु हुन्, ती पक्षको कमजोरी, समाजलाई उन्नत बनाउँन सकिन्न, तिनका अभावमा त्यसैले हामीलाई एउटा नाटकघरको आवश्यक्ता छ ।’ उनले स्थानीय सरकार, राजनितिक दल सबैलाई बहुजातीय, बहुसांस्कृतिक नगरको रुपमा चिनाउन सबै संग सहयोगको अपेक्षा गरेका छन् ।