विराटनगर । लकडाउन उलंघन गरी विराटनगरको पोखरिया माविले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको विषयमा आरोप प्रत्यारोप चल्न थालेको छ ।
यो विषयमा सामुदायिक र निजी विद्यालय संचालकका संस्थाबीच नै आरोप प्रत्यारोप चल्न थालेको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) मोरङ, नेपाल निजी तथा आवाससीय विद्यालय संगठन (एनप्याब्सन) विराटनगर,संस्थागत विद्यालय शिक्षक युनियन(इष्टु) मोरङ र निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) विराटनगरले संयुक्त विज्ञाप्ती प्रकाशित गरी पोखरियाले गल्ती ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।
कोरोना भाइरसको महामारीले आक्रान्त भएका बेला एकल निर्णयमार्फत ठूलो संख्यामा विद्यार्थी भेला गरी प्रवेश परीक्षा सञ्चालन गरेको भन्दै निजी तथा आवासीय विद्यालयले आपत्ती जनाउँदै आएका छन् ।
तर, पोखरिया विद्यालयको तर्फबाट पनि विज्ञप्ति प्रकाशित गरी सामुदायिक विद्यालयको शैक्षिक प्रगति देख्न नचाहनेहरुले विद्यालयको बदनामी गराएको भन्दै विज्ञप्ति जारी भएको छ ।
प्याब्सन विराटनगरका नगर अध्यक्ष इन्द्रकुमार राईले बालबालिकाको स्वास्थ्यमै जोखिममा राखेर विद्यालयले प्रवेश परीक्षा लिंदा रोग फैलन जोखिम झन् बढेको दाबी गरेका छन् । पोखरिया माविमा निजी विद्यालय छाडेर गई पढ्ने विद्यार्थीको संख्या हरेक वर्ष बढ्दो छ ।