सुनसरी । उद्योगीहरुले मनोमानी ढंगले कारोबार निति परिवर्तन गर्दा हार्डवेयर व्यवसायीहरु मारमा परेको गुनासो गरेका छन ।
सामाजीक दुरी कायम गरी इटहरीमा आयोजीत पत्रकार सममेलनमा असामान्य अवस्था सिर्जना हुन साथ उद्योगीहरुले कारोवारको नीति परिवर्तन गर्ने र अस्वभाविक मूल्यबृद्धि गरिदिँदा व्यवसायीहरुलाई समस्या हुने गरेको उनीहरुको गुनासो छ ।
कारोबारको निति परिवर्तनले ढुवानी लागत बढ्दा समग्र वस्तुको लागत बढ्न जाने हुँदा व्यवसायीले वस्तुको मूल्य बृद्धि गरी बिक्री गर्दा कालोबजारीको आरोप लागेर कानुनी जटिलता भोगिरहेको उनीहरुको गुनासो छ ।
व्यवसायीले नभएर उद्योगले नै समस्या सिर्जना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन । हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायी संघ, इटहरी, धरान हार्डवेयर संघ, विराटनगर हार्डवेयर संघ, इनरुवा हार्डवेयर संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै अनावश्यक र कृत्रिम अभाव सुजना गरी मूल्य वढाउदा व्यवसाय नियमित रुपमा संचालन गर्न नसक्ने व्यवसायीले बताएका छन । सम्बन्धित कम्पनीहरुसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभए विकल्प रोज्ने व्यवसायीले बताएका छ ।
उनीहरुले बैंक ग्यारेन्टी, ओडिसी चेक, पिडिसि चेक, लिखित सम्झौता, मौखिक सम्झौता भएकै आधारमा लकडाउन खुल्न साथ कानुनी प्रावधान लाई आधार मान्दै बक्यौता अवधि एवम् बक्यौता खाता समायोजन गर्नुपर्ने भनेर व्यवसायीलाई मानसिक, व्यक्तिगत, पारिवारिक तथा सामाजिक तनाब हुने गरी भुक्तानीका लागि दबाब सिर्जना नगर्न उद्योगीहरुसँग माग गरेका छन ।
उद्योगीहरूले बिना कारण मूल्यवृद्धि गरेपछि यसको प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको बताउँदै मूल्यवृद्धिको चौतर्फी विरोध भइरहँदा समेत सरोकारवाला निकायवाट अनुगमन, छानविनतथा मूल्य नियन्त्रण गर्नेतर्फ कुनै कदम नचालिनु अर्को आश्चर्यको विषय बनेको हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायी संघ इटहरीका अध्यक्ष भोला प्रसाद निरौलाले बताए ।
विज्ञप्तीमा भनिएको छ ‘जब जब देशमा विषम परिस्थिति सृजना हुन्छ तबतब उत्पादक उद्योगीहरुले पनि धमिलो पानिमा माछा मार्ने दाउमा रहेको जस्तो गतिविधिहरु गर्न खोजेको देख्दा हामी व्यवसायीहरुको मानसपटलमा चाहिँ उद्योगीहरुले मानवीय समवेदना तथा सामाजिक उत्तरदायित्व भुल्दै गएको पो हो कि ? भन्ने प्रश्न घुमिरहेको हुन्छ, जसको जवाफ आजको मिति सम्म हामीले प्राप्तगर्न सकेका छैनौँ । सरकारले पनि हामीलाई व्यवसाय गर्न सहज वातावरण प्रदान गरोस ।’
लकडाउनको अवस्थामा समेत उद्योगीले एकाएक मूल्यवृद्धि गर्नु आम उपभोक्ता माथि शोषण र अन्याय गरेको विराटनगर हार्डवेयर संघ विराटनगरका अध्यक्ष मुकुन्द दाहाल बताउँछन । यस्तो अवस्थामा हार्डवेयर व्यवसायीको लागि सरकारले विशेष प्राथमिकता दिएर योजना तथा नीति ल्याउन जरुरी भएको व्यवसायी तारा कट्वालले बताए ।
लकडाउनको समयावधि भरिको घरभाडा छुट गरिदिनु हुन तथा लकडाउन खुलेर व्यवसाय सञ्चालन भए पश्चात् ६० दिन पछि देखि मात्र घर भाडा भुक्तानी दिने वातावरण निर्माण गर्न इनरुवा हार्डवेयर संघ, इनरुवाका अध्यक्ष पहल बहादुर कट्वालले अपिल गरेका छन । पत्रकार सम्मेलनमा वोल्दै धरान हार्डवेयर संघका अध्यक्ष नबिन राजभण्डारीले घरबाहल कर, व्यवसायिक कर, सामाजिक सुरक्षा कर बुझाउने समय अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को पौष मसान्त सम्म उपलब्ध गराउने तथा उक्त समय सीमा सम्म कुनै पनि हर्जाना तथा व्याज नलगाउन स्थानीय, प्रदेश तथा संघीय सरकार समक्ष माग गरेका छन ।
लकडाउनको समय सीमा भरिको सवारी साधनका सबै प्रकारका कर छुट गर्ने तथा नवीकरण गर्नुपर्ने सवारीको हकमा नवीकरण गर्ने समय सीमा १ वर्ष थप गर्न तथा लाग्ने जरीवान छुट गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारसँग व्यवासायीहरुले माग गरेका छन ।
त्यसैगरी पुर्वका हार्डवेयर व्यवसायीहरुले वित्तीय संस्थाले ब्याज कम्तिमा ५ प्रतिशत घटाई कम्तिमा ३ वर्षसम्म स्थिर राख्न, लकडाउनको समयको ब्याजमा विशेष सहुलियत प्रदान गर्न, बक्यौता ब्याजको लागि व्याज पूँजीकरणको व्यवस्था गर्न तथा पुर्न कर्जाको व्यवस्था गरी व्यवसायलाई चालायमानको अवस्थामा ल्याउनको लागि नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुसँग माग गरेका छन ।
नेपालमा विद्युतीय बैंककिङ कारोवार सम्बन्धी जनमानसमा ज्ञान, सीप तथा सुरक्षाको विश्वसनीयता नभएको अवस्थामा नगदको कारोबारमा कोरोना कर लगाउने भनेर जनतालाई त्रसित बनाउने काम नगर्न वित्तीय सस्थाका सञ्चालक तथा बैंकर संघलाई पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
सम्बन्धित कम्पनीसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बिनाकारणको मूल्य वृद्धिले प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको हँुदा यसले पारेको समस्याप्रति सरोकारवालाहरु गम्भीर हुनु पर्ने व्यवसायी मुक्ती दाहलल बताउँछन । ।