धरान । रुकुममा दलित युवाको हत्या गरेको विरोधमा दोषिलाई कारवाहीको माग गर्दै सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको छ ।
दलित संघसस्थाहरु सहित गैह्रदलितले दोषिलाई कडा कारवाहीको माग गर्दै राजनितिक आडमा घटनालाई मोड्न खोजिएको भन्दै विहिबार सुनसरीको धरान, इटहरी, बराहक्षेत्र लगायतका स्थानहरुमा विरोध प्रदर्शन गरेका हुन् । धरान र इटहरीको मुख्य बजारहरुमा विरोध र्याली प्रदर्शन गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभामा दलित अधिकारकर्मीहरुले घटनाको सत्यतथ्य छानबिन गरि हदै सम्मको कारवाही गर्न माग गरेका छन् ।
धरानमा दलित विकाश समितीको अगुवाईमा विभिन्न दलित संघसस्थाहरु सहभागि रहेका थिए । कोणसभालाई सम्बोधन गर्दै दलित अगुवा डिबी शाहशंकरले गणतन्त्र दिवश मनाईरहँदा पनि दलित समुदाय माथिको विभेद अमानविय रहेको भन्दै कुनै पनि हालतमा दोषिले उन्मुक्ति पाउन नहुने बताए । राज्य र सरकारले दलित समुदाय माथि हुने गरेको विभेद अन्त्यका लागि चासो नदिने हो भने पुनः दलित समुदाय आन्दोलनमा होमिने समेत उनले चेतावनी दिए । दलित समुदाय माथि विभेदका विरुद्ध सम्पुर्ण नेपालीहरु एकजुट हुनु पर्नेमा जोड दिए ।
प्रर्दशनमा दलित संघसंस्था, आदिबासी जनजाति, विद्यार्थी तथा राजनीतिककर्मीहरुको पनि सहभागिता रहेको थियो । छाताचोकदेखि शुरु भएको ¥याली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले मृतकलाई सहिद घोषणा गर्न र क्षतिपूर्ति दिन पनि माग गरेका छन् । कोणसभामा अधिकारकर्मी गोविन्द विश्वकर्माले विभेद विरुद्धको अन्तिम लडाईको तयारी गर्नुपर्ने बताए ।
अन्तरजातिय विवाह सँग विहे गर्न गएको निहुँमा गत शनिबार पश्चिम रुकुमको चौरहजारीमा जाजरकोट भेरी नगरपालिका ४ का नवराज विक सहित ४ जनाको हत्या भएको थियो । कोणसभापछि दलित अधिकारकर्मीहरुले गृहमन्त्रीलाई इलाका प्रशासन कार्यालय धरानमार्फत् ज्ञापनपत्र समेत बुझाएका छन् ।