धरान/ धरान २० विष्णुपादुका माछामाराको प्रगती बेसार उत्पादन कृषक समुहको १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक खेती गरेका छन । यसबाट ५० टन बेसार उत्पादन गर्ने लक्ष्य लिएको समुहको अध्यक्ष प्रेमकुमार राईले बताएका छन ।
किसानहरूलाई संगठित गर्ने उद्देश्यका साथ सामुहिक खेती गरिएको अध्यक्ष राईले बताए । युवा पुस्ता कृषिबाट पलायन भइरहेको अवस्थामा यस सामुहिक खेती युवालाई समेटेर स्वरोजगार बनाउने तथा अन्य रोजगार सृजना गर्ने लक्ष्यका साथ यस खेती सुरू गरिएको छ । उनले भने, यस खेतीले किसानहरूलाई संगठित बनाउने उद्देश्य समेत राखेको छ ।ु धरानमा बेसारको पकेट क्षेत्र रहेको विष्णुपादुकामा अघिल्लो वर्षहरूमा व्यक्तिगत खेती गर्दै आएकोमा यस पटक भने सामुहिक खेतीको सुरूवाद गरेको उनले बताए ।
केही घरले तालिम लिएर उत्पादन सुरू गरिएको राईले बताए । १५ बिगाहा जमिनमा बेसार खेती लगाएका छौ । मौसम तथा मल सबै मिलेमा यसबाट करिब ५० टन किलो बेसार उत्पादन हुनेछ । उनले भने, एक किलो बेसारको अहिले १ सय ४५ रूपैँया बजार मुल्य रहेको छ । यसरी यो संख्या उत्पादन भए साढे ७२ लाख भन्दा बढीको उत्पादन हुनेछ । यस सामुहिक खेतिका लागी निजी लगानी रहेको छ ।ु प्रधानमन्त्री कृषि जोनमा आबद्ध भएर प्रस्ताव पेश गर्ने तयारी गरिरहँदा लकडाउन सुरू भएको उनले बताए । उत्पादित बेसार आफ्नै समुहले खरिद गरी बजारसम्म पुर्याउने उनले बताए । निकट भविष्यमा समुहको सदस्यहरू बढाउँदै लैजाने समेत उनले बताए ।
करिब दुई महिना लगाएर बेसार खेती गरिएको समुहका सचिव चक्र राईले बताएका छन । यहाँ खेती गर्ने स्थानमा बाली नलगाएकोले घारी रहेको थियो । हामीले यस जग्गालाई लिजमा लिएर दुई महिना लगाएर घारी फडानी गरी खेती सुरू गरेका छौ । उनले भने, यहाँ १ हजार ४ सय २५ किलो बेसारको बिउँ लागेको छ । किलोको ६० रूपैँया पर्ने बिउँको कुल खर्च साढे ८५ हजार रहेको छ । यस्तै १९ घरको दैनिक एक जना खेताला दुई महिना तथा खेतीको लागी दैनिक पाँच हल गोरू १५ दिन भन्दा बढी लागेको छ । एक जना खेतालाको दैनिक ६ सय रूपैँया ज्याला लाग्ने तथा एक हल गोरूको दैनिक १ हजार लाग्ने उनले बताए । यसरी हेर्दा ठुलो लगानीका साथ हामीले खेती गरेको उनले बताए ।
बेसार रोप्न सिजन चैत्र र बैशाख भएपनि त्यस बेला सबैले आआफ्नो बारीमा खेती लगाएको र त्यसपछि सामुहिक खेती गरिएको छ । बेसार करिब ६ महिना मंसिरमा उत्पादन भइ बजारमा लैजान मिल्नेछ । रोपेपछि सेउलाले छोपेको बिउँमा एकपटक र नछोपेकोमा दुई पटक गोडमेल गर्नुपर्ने हुन्छ । धरान उपमहानगरपालिकामा बेसारको पकेट क्षेत्र भनिएको विष्णपादुका क्षेत्रमा यस सामुहिक खेतीले पक्कै पनि यस पहिचानलाई अगाडि बढाउनेछ ।