धरान । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा निस्कीएको विद्यार्थीको समुहलाई इलाका प्रहरी कार्यालय धरानले हस्तक्षेप गर्दै विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।
धरानको महेन्द्र बहुमुखि क्याम्पसबाट निस्कीएको नेविसंघको जुलुसलाई प्रहरी धरानको भानुचौंकमा हस्तक्षेप गर्दै विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो ।
नाराजुलुस सहित भानुचौक आई पुगेका नेविसंघका महेन्द्र बहुमुखि क्याम्पसका कार्यवाहक सभापति एवं स्ववियुका सचिव दोर्ची सेर्पा, नेविसंघका जिल्ला सचिव टकेन्द्र राई, विनोद आलेमगर, विमल बुढाथोकी, अजित लिम्बु, अजय लिम्बु, कृष्ण बडु र उत्तम राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलि सहित भारतीय प्रधानमन्त्री र भारतको विरुद्धमा नाराबाजी गरेका थिए ।
पक्राउ परेका विद्यार्थी नेताहरुलाई बिना शर्त रिहा गर्न माग गर्दै कांग्रेस धरान नगर समितीले प्रेस विज्ञप्ती जारी गरेको छ ।
सचिव श्याम पोख्रेलद्वारा विज्ञप्ती जारी गर्दै धरान लगायत देशका विभिन्न स्थानबाट प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएकोले भातृसंस्थाका नेता साथीहरुलाई तत्कालि बिना सर्त रिहाई गर्न माग गरेका छन् ।
विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल सरकारलाई यस विषढमा भारत सरकार सँग प्रष्ट ढङगले कुरा राखी आफ्नो भुमिको रक्षा गर्न र अतिक्रमण गरिएको भुमि फर्काउन जोडदार माग गर्दछ ।
यस राष्ट्रिय मुद्धामा देशमा रहेका सम्पुर्ण राजनितिक दलहरु नागरिक समाजहरु एवं प्रवुद्ध व्यक्तिहरुलाई एकतावद्ध हुन समेत आव्हान गर्दछौं ।’
यसै गरी हर्क साम्पाङको समूहले पनि भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा विरोध जुलुस निकालेका थिए ।
सो समूहका पनि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालयको कर्वड हलमा राखिएको र सामान्य सोधपुछ गरिने बताएका छन् ।