नेपालमा लकडाउनलाई केही खुकुलो बनाए पछि भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको भिड लाग्न थालेको छ ।
भारतीय सिमानाबाट नेपाल प्रवेश गर्न चाहने नेपालीहरुको भिड बढे सँगै सिमानामा नेपालीहरु अलपत्र परेका छन् । नेपाल भारतको सीमावर्ती क्षेत्रमा सोमबारसम्म ३ हजार ६५ जना नेपाली सिमानाकामा भेला भएको पाइएको छ । सशस्त्र प्रहरी बलले गृह मन्त्रालयका बुझाएको विवरण अनुसार सोमबार चार बजेसम्म नेपाली सीमा नाकामा २ हजार ३ सय ८५ जना अलपत्र अवश्थामा रहेका छन् भने अन्यलाई भारतीय र नेपाली सिमा क्षेत्रको क्वारेन्टाइनमा राखिएको छ ।
भारत सरकारले लकडाउन खुकुलो गरेसँगै १९ वैशाखबाट विभिन्न राज्यमा अलपत्र मजदुर, विद्यार्थी, तीर्थयात्री तथा पर्यटकलाई रेलबाट उद्दार गर्न सुरु गरेको थियो । मजदुरको सामान्य स्वास्थ्य परीक्षणपछि उनीहरुलाई रेल चढ्न दिइएको थियो । यसरी आउने मजदुरका कारण सीमामा अलपत्र नेपालीको संख्या बढ्न सक्ने सुरक्षा संयन्त्रको अनुमान छ ।
प्रदेश नं. १ प्रहरी कार्यालय स्रोतका अनुसार झापामा १ सय ९५, मोरङ र सुनसरीमा ५०÷५० जना सीमा क्षेत्रमा छन् । प्रदेश नं. २ प्रहरी स्रोतका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको सीमावर्ती क्षेत्रमा ५ सय २७ जना नेपाली भारतको क्वारेन्टाइनमा राखिएका छन् ।
प्रदेश १ का सर्वसाधारण कामका लागि कोलकता, आसाम, मणिपुर लगायतका क्षेत्रमा जाने गर्छन् । यद्यपि, प्रदेश १ बाट कामका लागि भारत जानेको संख्या अन्य प्रदेशको तुलनामा धेरै छैन ।
प्रदेश नंं २ का सर्वसाधारण दिल्ली, मध्यप्रदेश, पञ्जाब लगायतका क्षेत्रमा जाने गरेको पाइन्छ । प्रदेश नं. ५ र सुदुरपश्चिमका सर्वसाधारण भने लखनउ, बम्बई, पञ्जाब, उत्तराखण्ड, हरियाना लगायतका क्षेत्रमा जाने गरेका छन् ।
सशस्त्र प्रहरीले बुझाएको रिपोर्ट अनुसार प्रदेश नं. २ को धनुषामा ५, सिरहामा १९, प्रदेश ५ को नवलपरासीमा ६०, रुपन्देहीमा १ सय ६१, कपिलवस्तुमा दुई हजार एक सय ३७ र प्रदेश नं. ७ को कञ्चनपुरमा ३ जना सीमामा अलपत्र छन् ।