सुनसरी/ सुनसरीको झुम्का बजारमा मोटरसाइकलमा अढेस लागेर बसिरहेका दुई युवक लागूऔषध ब्राउनसुगरसहित प्रहरीको नियन्त्रणमा परेका छन् ।
शनिबार साँझ ६ बजे रामधुनी नगरपालिका–५ झुम्का बजारमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागूऔषध ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सडक छेउमा प्रदेश १–०२–०५५ प ४१०६ नम्बरको मोटरसाइकलमा अढेस लागेर बसिरहेका उनीहरूमाथि शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा उनीहरूको साथबाट ब्राउनसुगरजस्तो देखिने १४ ग्राम ७० मिलिग्राम लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ का ३१ वर्षीय अमित अधिकारी र २४ वर्षीय रोहन पोदार रहेका छन् ।
प्रहरीले लागूऔषध र मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।