झापा/ झापामा महिला तथा बालिकामाथि हुने यौन हिंसाका गम्भीर घटनाहरू एकपछि अर्को सार्वजनिक भएका छन्। चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासम्म यौन हिंसाको सिकार बनेका छन्।
पछिल्लो समय सार्वजनिक भएका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न उमेरका पाँच जनालाई पक्राउ गरेको छ।
महिला हिंसा न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी निकायले विभिन्न अभियान र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका बेला सार्वजनिक भएका यी घटनाले महिला तथा बालिकाको सुरक्षा र हिंसा न्यूनीकरणका प्रयासमाथि गम्भीर प्रश्न उठाएका छन्।
पछिल्लो घटना बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोकको हो।
शनिबार राति करिब १० बजे कनकाई नगरपालिकाकी १९ वर्षीया युवती र उनकी १७ वर्षीया नातेदारमाथि यौन हिंसा भएको घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार आफन्तकहाँ गएका बेला बुद्धशान्ति–३ का २९ वर्षीय मिलन खतिवडा र सोही स्थानका २९ वर्षीय छचेन लिम्बूले दुवैलाई जबर्जस्ती तानेर एकान्तमा रहेको बाँसघारीमा पुर्याएका थिए।
प्रारम्भिक अनुसन्धानमा खतिवडाले १९ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गरेको र लिम्बूले १७ वर्षीया किशोरीमाथि करणी प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ।
किशोरी भाग्न सफल भएपछि होहल्ला भएको थियो। त्यसपछि दुवै आरोपित फरार भएका थिए।
पीडितका बुबाले प्रहरीलाई जानकारी गराएपछि परिचालित टोलीले दुवै आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक नकुलराज गौतमले जानकारी दिएका छन्।
घटनामा बेहोस भएकी युवतीलाई मेचीनगर आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
यसैगरी, मेचीनगर नगरपालिका–९ लीलाबस्तीमा ६० वर्षीया वृद्धामाथि जबर्जस्ती करणी गरेको आरोपमा ४६ वर्षीय तिलक श्रेष्ठ पक्राउ परेका छन्।
प्रहरीका अनुसार बुधबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा वृद्धामाथि जबर्जस्ती करणी भएको आरोप छ।
पीडितले मंसिर १० गते जाहेरी दिएपछि प्रहरीले श्रेष्ठलाई घरबाटै पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
त्यस्तै, शिवसताक्षी नगरपालिका–११ मा चार वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ६१ वर्षीय हर्कबहादुर तिवारी पक्राउ परेका छन्।
मंसिर ६ गते बिहान बालिकाकै घरको कोठामा ललाईफकाई जबर्जस्ती करणी गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा प्रहरीले मंसिर ७ गते राति तिवारीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार बालिकाको अवस्था सामान्य रहेको छ।
मेचीनगर नगरपालिका–१५ मा १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४१ वर्षीय अरुणकुमार श्रेष्ठ पनि पक्राउ परेका छन्।
मंसिर ५ गते साँझ घरमा कोही नभएको मौका छोपी बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो। उनी यसअघि पनि पक्राउ परेको प्रहरीको भनाइ छ।
यसैबीच, शिवसताक्षी नगरपालिका–४ बिशुवाडुब्बाका २५ वर्षीय बनेश्वर सोरेन १७ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
कात्तिक २९ गते राति शिवसताक्षी–५ स्थित जनता बजार पूर्वको एक खेतमा डरत्रास देखाएर जबर्जस्ती करणी गरेको आरोप उनीमाथि छ।
पीडितका आफन्तले मंसिर १ गते प्रहरीलाई जानकारी गराएपछि उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
झापामा सार्वजनिक भएका यी घटनाले बालिका, किशोरीदेखि वृद्धासम्मको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको देखाएका छन्।
महिला हिंसाविरुद्ध अभियान र जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि यस्ता गम्भीर घटना दोहोरिनुले अभियानको प्रभावकारिता, अपराध नियन्त्रण र पीडितको सुरक्षाबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको छ।