धरान/ सुनसरीको धरानमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–१२ चतरालाइन बस्ने २९ वर्षीय सुरेश क्षेत्री र धरान–१९ बस्ने २९ वर्षीय रुदिन भुजेल रहेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी सहायक हवल्दार हेमराज सुवेदीको कमाण्डमा खटिएको टोलीले मगलबार साँझ करिब ६ः३० बजे धरान–८ स्थित बरगाछी चोकमा इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–०५५ प ४६६ नम्बरको स्कुटरलाई शंका लागेर रोकेको थियो।
स्कुटर चालक क्षेत्री र पछाडि सवार भुजेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याई अनुसन्धान गर्ने क्रममा क्षेत्रीको मलद्वारबाट लुकाएर राखिएको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद पदार्थ नापतौल गर्दा प्लास्टिकबाहेक ५ ग्राम २८० मिलिग्राम रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।