काठमाडौं/ बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागदेखि पूर्वसम्म हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो ।
लुम्बिनीदेखि पूर्वका भूभागहरूमा वर्षा केन्द्रित रहने तथा कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा क्रमश कम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै शुक्रबार गण्डकीदेखि पूर्वका हिमाली भूभागमा भारी हिमपात तथा कर्णालीदेखि पूर्वका भूभागमा बढी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले बताए । शनिबार वर्षा पश्चिमतिर सर्ने देखिएको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनसक्ने उनले जानकारी दिए ।
त्यसैगरि आइतबार बागमतीदेखि पूर्वको क्षेत्रमा वर्षा कम हुने तर बागमतीदेखि पश्चिममा वर्षा जारी रहने सम्भावना रहेको मौसमविद् ढकालले बताएका छन् ।
निरन्तरको बर्षाका कारण पहाडी भूभागमा पहिरो जाने, नदीतटीय तथा सहरी क्षेत्रमा डुबान हुने र खोलानालाहरूमा पानीको बहाव बढ्ने जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको बिभागले जनाएको छ ।