धरान/ धरानका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै धरान खेलकुद मञ्चले तेस्रो ‘धरान खेलकुद अवार्ड’ आयोजना गर्ने भएको छ।
मञ्चले आगामी असोज १२ गते सोमबार आयोजना गर्ने अवार्डमा विभिन्न खेल विधाका उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्री तथा प्राविधिक व्यक्तित्वलाई सम्मान गर्ने जनाएको छ।
अवार्डको मुख्य आकर्षणका रूपमा यसपटक पहिलोपटक ‘धरान स्पोर्टस् पब्लिक च्वाइस’ सुरु गरिने भएको छ। धरानका चर्चित १० खेलाडीमध्ये मतका आधारमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई पुरस्कृत गरिने मञ्चका अध्यक्ष किशोर राईले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
खेलकुदमा योगदान पुर्याउँदै आएका उत्कृष्ट खेलाडी र प्रशिक्षकसँगै आफ्नो जीवन नै खेलकुद क्षेत्रमा समर्पण गरेका विशिष्ट व्यक्तित्वलाई समेत अवार्डमार्फत अभिनन्दन गरिने मञ्चले जनाएको छ।
धरानलाई खेलकुदको सहरका रूपमा स्थापित गर्ने अभियानसँगै खेलाडी, प्रशिक्षक, रेफ्री तथा प्राविधिक जनशक्तिका लागि स्थायी रोजगारी र खेलकुदको व्यवसायीकरण गर्ने उद्देश्यले मञ्चले स्थानीय तह, उद्योगी, व्यवसायी, कम्पनी तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्ने जनाएको छ।
मञ्चका अनुसार खेलकुदलाई केवल प्रतियोगिता र पुरस्कारमा सीमित नराखी धरानको पहिचानसँगै आर्थिक गतिविधिको माध्यम बनाउने योजना अघि सारिएको छ।
खेलाडीको दीर्घकालीन भविष्य सुरक्षित गर्न खेलकुदमा लगानी र व्यवसायिक अवसर विस्तार गर्ने पहललाई अवार्ड कार्यक्रमसँग जोडिएको अध्यक्ष राईले बताए।
मञ्चले खेलाडीको सम्मानसँगै धरानमा खेलकुद क्षेत्रको व्यवसायीकरणको सुरुवात गर्ने लक्ष्य राखेको जनाएको छ। त्यसका लागि स्थानीय सरकार, निजी क्षेत्र, उद्योग–व्यवसायी र खेलकुदसँग सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेको मञ्चको भनाइ छ।
मञ्चका अध्यक्ष किशोर राई र महासचिव विक्रम लिम्बूद्वारा जारी विज्ञप्तिमा अवार्डले धरानको दीर्घकालीन खेलकुद विकासका लागि नयाँ मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरिएको छ।