-साङ्केतिक तस्बिर
उर्लाबारी/ मोरङको केराबारी गाउँपालिका –१ पाटीगाउँको तेलेङमा पानी भरिएको भाँडो (फोसी) मा डुबेर तीन वर्षकी बालिकाको मृत्यु भएको छ ।
केरावारी गाउँपालिका वडा –१ का वडासदस्य टेकबहादुर मगरका अनुसार मङ्गलबार दिउँसो घरमा खेल्नेक्रममा फडिन्द्र मगरकी छोरी दियाना मगरको मृत्यु भएको हो ।
दिउँसो करिब अढाइ बजेतिर घरमा खेलिरहेकी बालिका चारो पकाउने पानीले भरिएको ठुलो भाँडोमा डुबिरहेको अवस्थामा आमा यमुनाले भेटेपछि यमुनाले वडासदस्यलाई खबर गर्नुभएको थियो ।
वडासदस्य मगरले बालिकालाई तत्काल धनकुटाको डाँडाबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो ।
तर स्वास्थ्य केन्द्रका चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए । घटनाबारे डाँडाबजार प्रहरी चौकीले मङ्गलबार साँझ करिब ६ः१० बजे मोरङ प्रहरीलाई जानकारी गराएको थियो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।
बालिकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । केरावारी –१ को तेलेङ धनकुटाको सीमामा पर्ने गाउँ हो ।