- अजितकुमार झा
इनरुवा/ सुनसरीको इनरुवा–९ का देवनारायण मेहताले ठेक्कामा खेती गर्दै आएको खेतमा अज्ञात व्यक्तिले विषादी छर्किँदा धानबाली सुकाएर नष्ट भएको गुनासो गरेका छन्।
इनरुवा–२ का वकिल मियाँको जग्गा सात वर्षदेखि ठेक्कामा लिएर खेती गर्दै आएका मेहताले यस वर्ष पनि सोही खेतमा धान रोपेका थिए।
तर, नहरको डिलबाट कोही अज्ञात व्यक्तिले विषादी छर्किँदा आफ्नो खेतको सबै धान सुकेर मरेको मेहताले गुनासो गरेका छन्।
विगत ३५–४० वर्षदेखि त्यस क्षेत्रमा खेती–किसानी गर्दै आए पनि यस्तो घटना पहिलो पटक भोग्नुपरेको मेहताले बताए।
करिब ४ कट्ठा जग्गामा धान खेती गरेको र त्यसबाट २८ देखि ३० मनसम्म धान उत्पादन हुने अपेक्षा रहेकोमा विषादीका कारण बाली नष्ट भएको मेहता परिवारले जनाएको छ।
लामो समयदेखि जग्गा भाडामा लिएर खेती–किसानी र मजदुरी गर्दै घरपरिवार चलाउँदै आएकोमा यस वर्ष विषादीका कारण आफूहरू पूर्ण रूपमा प्रभावित भएको जमुना मेहताले बताइन्।
विगत सात वर्षदेखि नियमित रूपमा खेती गर्दै आए पनि यस वर्षको बालीमा ठूलो क्षति पुगेको उनले बताइन्।
‘विगतका वर्षहरूमा यस्तो समस्या आएको थिएन, तर यस वर्ष नहरको छेउछाउमा विषादी प्रयोग गरिँदा हाम्रो मेहनत र लगानी खेर गयो,’ पीडित किसान मेहताले भने।
बालीमा भएको नोक्सानीको उचित छानबिन गरी सम्बन्धित पक्षबाट क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस्ता लापरबाही दोहोरिन नदिन स्थानीय प्रशासनसँग किसानले माग गरेका छन्।
किसानले आफ्नो खेतमा लगाएको धानबालीमा क्षति पु¥याइएको भन्दै न्याय, क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीका लागि जग्गाधनी भनिएका वकिल मियाँले माग गरेका छन्।
साढे चार कट्ठा क्षेत्रफलमा लगाइएको धानबालीमा कसैले नियतवश विषादी तथा रासायनिक पदार्थ छर्किएर सुकाई नष्ट गरिदिएको उनको गुनासो छ।
उक्त जग्गाबाट करिब ३० मन धान उत्पादन हुँदै आएकोमा बाली नष्ट हुँदा आफूलाई ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको उनले बताए।
घटनास्थलमा सुकेका धानका बोट देखाउँदै पीडित किसानले यस हानिकारक कार्यमा संलग्न व्यक्ति भए कानुनी कारबाही गरियोस् भनी सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
खेतमा हरियो धानसँगै ठूलो क्षेत्रफलमा धानका बोट सुक्ने तथा बाली नष्ट हुने समस्या देखिएको मियाँले बताए।
यस विषयमा इनरुवा नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ।
इनरुवा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका प्रमुख बिनिताकुमारी मेहताले यस विषयमा आवश्यक छलफलका लागि सम्बन्धित पक्षलाई बिहीबार बोलाइएको जानकारी दिइन्।
-प्रदेश खबरबाट