धरान/ जन्मदिनमा हुने फजुल खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यसहित धरानका शिक्षासेवी डम्बरकुमार तुम्बापोले मानव सेवा आश्रममा आश्रित आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा बालबालिकासँग जन्मदिन मनाएका छन्।
सुनसरीको धरान–१६ स्थित युएन स्कूलका डाइरेक्टर तथा युएन नवोदय प्लस टु र युएन कलेजका प्रिन्सिपल एवं क्याम्पस प्रमुख तुम्बापोले आफ्नो जन्मदिनको अवसरमा धरानस्थित मानव सेवा आश्रममा आश्रितहरूलाई विशेष भोजनका रूपमा खीर खुवाएका हुन्।
आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै आएका तुम्बापोले आश्रमका आश्रितहरूसँग खुसी साट्न पाउँदा आफूलाई विशेष खुसी लागेको बताए।
उनका अनुसार हरेक वर्ष राष्ट्रिय बाल दिवसकै दिन जन्मदिन पर्ने भएकाले यसपटक बाल दिवस र हरितालिका तिजसमेत एकै अवसरमा परेकाले आश्रममा विशेष भोजन गराइएको हो।
“मेरो जन्मदिन हरेक वर्ष राष्ट्रिय बाल दिवसका दिन पर्छ। यस वर्ष बाल दिवससँगै नेपाली महिलाहरूको महान् चाड हरितालिका तिज पनि परेको छ।
त्यसैले आश्रमका सम्पूर्ण परिवारसँग खुसी साट्दै विशेष रूपमा खीर भोजन गराएको हुँ,” उनले भने।
तुम्बापोले विगतका वर्षमा पनि आफ्नो जन्मदिन सामाजिक सेवामै समर्पित गर्दै आएका छन्।
यसअघि उनले इलामको चुलाचुलीस्थित बहुभाषिक पाठशालाका विद्यार्थी तथा गत वर्ष धरान–१३ स्थित सरस्वती बाल आश्रमका अनाथ बालबालिकासँग जन्मदिन मनाएका थिए।
यस वर्ष मानव सेवा आश्रममा आश्रित परिवारसँग जन्मदिन मनाउँदै उनले रगतको नाता नभए पनि मानवताको नाता सबैभन्दा ठूलो रहेको बताए।
“यहाँका मान्यजन र बालबालिकासँग मेरो रगतको नाता नभए पनि प्रगाढ मानवताको नाता छ,” उनले भने।
कार्यक्रममा तुम्बापोकी जीवनसङ्गिनी सञ्जु, छोराहरू साम्निगेन र साम्जिकसहित परिवारका अन्य सदस्यहरूको समेत सहभागिता थियो।
सहाराविहीन तथा बेसहारा नागरिकको सेवा गर्दै आएको मानव सेवा आश्रमप्रति सम्मान व्यक्त गर्दै तुम्बापोले आश्रमले हजारौँ सहाराविहीन नेपालीलाई दिएको सेवाको प्रशंसा गरे।
उनले भविष्यमा पनि आवश्यक पर्दा आश्रमका लागि सक्दो सहयोग गर्न आफू सधैँ तत्पर रहने प्रतिबद्धता जनाए।
कार्यक्रमको अन्त्यमा मानव सेवा आश्रम परिवारका तर्फबाट तुम्बापो तथा उनका परिवारका सदस्यलाई खादा र टीका लगाएर सम्मान गरिएको थियो।
आश्रमले तुम्बापो परिवारलाई जन्मदिनको शुभकामना दिँदै सहयोग तथा आत्मीयताका लागि धन्यवाद व्यक्त गरेको थियो।