-फाइल तस्बिर
धरान /धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सेल्फीडाँडामा विद्युतीय गाडी (इभी) र ट्यांकर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
मंगलबार कोशी लोकमार्गअन्तर्गत सेल्फीडाँडामा धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४४४१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ७५२० नम्बरको ट्यांकर ठोक्किएका हुन् ।
दुर्घटनामा इभी चालक तेह्रथुमको फेदाप गाउँपालिका–१ का ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुरको पौवादुम्मा गाउँपालिका–३ चम्तामका ३८ वर्षीय कुलप्रसाद थापा मगर घाइते भएका छन् ।
प्रहरीका अनुसार मास्केको शरीरका विभिन्न भाग तथा खुट्टामा चोट लागेको छ भने थापा मगरको टाउकोमा चोट लागेको छ । दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा पठाइएको छ ।
दुर्घटनापछि इभी, ट्यांकर र ट्यांकर चालकलाई इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाको नियन्त्रणमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।