पहिलोपटक धरानमा महिला अन्तर्राष्ट्रिय गोल्डकप कात्तिक २८ देखि

  • भदौ २५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । यो प्रतियोगिता रात्रिकालीन हुने आयोजकले जनाएको छ ।

डी–१९ क्लब धरान–१९ को आयोजनामा आगामी कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

क्लबले बिहीबार धरानमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित भारतको एक टोली र विभिन्न जिल्लाका गरी आठ टोलीको सहभागिता रहने जनाएको छ ।

प्रतियोगितामा एपीएफ क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, भारतको झारखण्डस्थित आक्वा फुटबल क्लब, बागमती फुटबल क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा, उदयपुर फुटबल क्लब र धरानको स्वर्णिम फुटबल क्लब सहभागी हुनेछन् ।

प्रतियोगिता धरान रंगशालामा सञ्चालन हुनेछ । आयोजकका अनुसार प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट फर्वार्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

धरान–१९ मा रहेको डी–१९ क्लब मुनाफारहित जनहितकारी सामाजिक संस्था रहेको र खेलकुद तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको क्लबले जनाएको छ । ‘धरान फुटबल विकासका लागि स्थानीय तहमा युवाहरूको सक्रियता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै क्लबले फुटबल विकासका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।

धरानलाई खेलकुदमा विशेषगरी फुटबलको उर्वरभूमिका रूपमा विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष सन्तोष राईले जानकारी दिए । खेलकुदका माध्यमबाट कोशी प्रदेशलाई विकास गर्ने स्थानीय तथा प्रदेश सरकारको लक्ष्य, खेलकुद पूर्वाधार, हावापानी, स्वास्थ्य तथा खेलकुदप्रेमी धराने जनताको कारण धरानले खेलकुद क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको आयोजकले जनाएको छ ।

धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा फुटबल खेलाडी उत्पादन हुँदै आएको र धरानले फुटबल व्यवस्थापनमा समेत सफलता हासिल गर्दै आएको क्लबको दाबी छ । महिला फुटबल प्रतियोगिता आयोजना गरेर धरानका महिला खेलाडीलाई अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा तथा खेल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताले धरानमा रहेका महिला फुटबल खेलाडीको मनोबल बढाउनुका साथै उनीहरूलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ । साथै, कोशी प्रदेशका महिला खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

डी–१९ क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईका अनुसार महिला फुटबलको विकाससँगै स्थानीय खेलाडीलाई व्यावसायिक फुटबलतर्फ अघि बढाउने वातावरण निर्माण गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

क्लबले खेलकुदका माध्यमबाट समाजसेवा तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याउने, स्थानीय महिला फुटबल खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने, युवालाई सामाजिक विकृतिबाट टाढा राख्ने र फुटबल खेलाडीलाई व्यावसायिक खेलाडीका रूपमा प्रोत्साहन गर्ने उद्देश्यसमेत राखेको छ ।

धरानमा औषधिको आवरणमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली ...

स्थानीयले श्रमदान गर ...

ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ ग ...

धरान मेघा हिमालयनका ...

धरान/  धरान-१२ स्थित धरान मेघा हिमालयन स्कुलरकलेजक ...

गोमनले डस्यो ८ वर्षी ...

धरान/ सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved