धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले ठूलो परिमाणमा विभिन्न प्रकारका औषधि र नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ स्थानीय २६ वर्षीय आकाश राईको घरकोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा राईको कोठाबाट ट्रामानिल ४६ क्याप्सुल, डिसिकोल्ड ४४ ट्याब्लेट, केट्रोलाक ३८ ट्याब्लेट र नगद १० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद सामग्री र नगदसहित राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।