धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ ।
पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी तथा विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।
धरान–५ का दीपक मगरका अनुसार बर्खामा पानी परेपछि लेदुवा खोलामा बाढी आउने र विद्यालय हिँडेका विद्यार्थी खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँसम्म किनारमा बस्नुपर्ने अवस्था छ ।
‘पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने अवस्था छ ।
बाढी नघट्दा कहिलेकाहीँ विद्यार्थी विद्यालय नै नगई घर फर्किनुपर्ने अवस्था छ,’ उनले भने ।
पुल निर्माणका लागि २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वल्र्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु. १ करोड २१ लाख ८६ हजारमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७८ साउनभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
तर, सम्झौताको म्याद सकिएको वर्षौँ बितिसक्दा पनि पुल निर्माणले पूर्णता पाउन सकेको छैन ।
धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूका अनुसार निर्माणका क्रममा पुलको दुवैतर्फ पिलर उठाइए पनि त्यसपछि काम अघि बढ्न सकेको छैन ।
हालसम्म करिब ३० प्रतिशत मात्रै काम भएको र निर्माण गरिएका पिलरसमेत झाडीले ढाकिएको उनले बताए ।
‘दुवैतर्फ पिलर उठाइएको थियो, त्यसपछि काम अघि बढेन । अहिले पिलरसमेत झाडीले ढाकिसकेको छ,’ उनले भने ।
पुल नहुँदा धरान–४ र ५ का बासिन्दालाई धरान बजारसम्म आवतजावत गर्न समस्या हुने गरेको छ ।
विशेषगरी बर्खामा खोलामा बाढी आएका बेला स्थानीयवासीले जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था रहेको वडाध्यक्ष लिम्बूले बताए ।
बिरामीलाई अस्पताल लैजानसमेत समस्या हुने गरेको छ । स्थानीयवासीले अस्थायी रूपमा बाँसको पुल बनाएर आवतजावत गर्ने गरे पनि बर्खाको बाढीले त्यसलाई समेत बगाउने भएकाले स्थायी पुल आवश्यक रहेको लिम्बूको भनाइ छ ।
पुल नहुँदा स्थानीय किसानले उत्पादन गरेका सागसब्जी, दूधलगायत कृषि उपज धरान बजारसम्म पुर्याउनसमेत समस्या हुने गरेको छ ।
धरान–४ र ५ का किसानले उत्पादन गरेका कृषि उपज बिक्रीका लागि धरान बजार लैजाने गरेका छन् ।
पुलको अभावमा विद्यार्थीको पढाइसमेत प्रभावित हुँदै आएको छ । धरान–५ मा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय रहेकाले कक्षा ६ भन्दा माथि अध्ययन गर्ने विद्यार्थी धरान बजारतर्फ जानुपर्ने हुन्छ ।
मनटार, सुमनटार, मुक्तिलाल, निशानडाँडा र तल्लो निशानडाँडाका विद्यार्थी यही मार्ग हुँदै विद्यालय जाने गरेका छन् ।
बर्खाको समयमा परीक्षा परेका बेला खोलामा बाढी आएर तर्न नसक्दा विद्यार्थी परीक्षा दिनबाट समेत वञ्चित हुने गरेका छन् ।
पुल निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । वडाध्यक्ष लिम्बूका अनुसार २०८१ चैत १२ गते ठेकेदार पक्षसँग जेठ मसान्तसम्म काम सम्पन्न गर्ने सहमति भएको थियो ।
पछि पुनः सम्पर्क गर्दा २०८२ फागुनसम्म निर्माण सम्पन्न गर्ने जानकारी गराइएको भए पनि हालसम्म काम सुरु नभएको उनले बताए ।
पुल निर्माणको विषयमा २०८१ चैतमा कोशी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गरेका थिए ।
सो क्रममा काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गरी धरौटी जफत गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइएको थियो ।
तर, ठेकेदार कम्पनीले अदालतबाट अन्तरिम आदेश लिएपछि प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ ।
पुल निर्माण सम्पन्न भए धरान–४ र ५ का बासिन्दाको दैनिक आवतजावत, कृषि उपजको ढुवानी, विद्यार्थीको विद्यालय आवतजावत तथा स्वास्थ्य सेवामा पहुँच सहज हुने स्थानीयको अपेक्षा छ ।
साथै, यस मार्गबाट धनकुटाको राजारानी तथा मोरङको याङ्शीला र केराबारी हुँदै धनकुटा तथा मोरङसम्म आवतजावत गर्नसमेत सहज हुने वडाध्यक्ष लिम्बूले बताए ।
-रासस