काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ बताउँदै नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको दाबी गरेर रकम असुल गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्दै आएका २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्।
प्रहरीका अनुसार बुढाले महिलालाई नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै रकम माग गरेका थिए। रकम नदिए ती तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै उनले पटक–पटक गरी ९ लाख ९५ हजार रुपैयाँ लिएको भन्ने सूचना प्रहरीमा पुगेको थियो।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खोजी गरी बुढालाई नियन्त्रणमा लिएको हो।
उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग व्यक्तिगत तस्बिर तथा भिडियो आदानप्रदान गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।