भारतको प्याजमा निर्भर नेपाल, भन्सारको भारले धरानका व्यापारी मारमा: नेपाली उत्पादन निर्यातमा पनि अनेक झन्झट

  • भदौ १८, २०८३
  • कोशीपत्र/संवाददाता
alt - फणिन्द्र तिम्सिना

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उत्पादन पर्याप्त नहुनुले धरानको कृषि उपज बजारमा यसको प्रत्यक्ष असर देखिएको छ।

भारतबाट महँगोमा प्याज ल्याउनुपर्ने, आयातमा भन्सार तथा ढुवानीको भार थपिनु र बजारमा बिक्री घट्नुका कारण प्याज व्यवसायी दोहोरो मारमा परेका छन्।

धरानस्थित कृषि उपज बजारका प्याज व्यापारी मनोजकुमार चौधरीका अनुसार अहिले भारतको इन्दौरबाट प्याज आयात भइरहेको छ। तर, मूल्य महँगो भएकाले विगतको तुलनामा आयातको परिमाण निकै घटेको छ।

“पहिले ५–७ गाडी दिनमै आउँथ्यो, अहिले १ गाडीमात्र आउँछ,” चौधरीले भने, “महँगो भएका कारण पहिले जस्तो धेरै प्याज ल्याउन सकिएको छैन।”

व्यवसायीका अनुसार भाडा र भन्सारसहित प्रतिकेजी करिब १६ रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था छ। अर्का व्यापारी सुशील चौधरीले करको भारले प्याजको लागत बढ्ने र अन्ततः त्यसको भार उपभोक्तामाथि पर्ने बताए।

“एक केजीमा १६–१७ रुपैयाँ कर लाग्छ। कर बढी भएपछि खरिद दर पनि बढ्छ, यहाँ आइपुग्दा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्छ,” उनले भने।

व्यवसायीका अनुसार कृषि बजारमा प्याजको मूल्य करिब ९५–९६ रुपैयाँ प्रतिकेजी आसपास छ। महँगोमा खरिद गरिएको प्याज बजारमा अपेक्षित रूपमा बिक्री नहुँदा घाटा खाएर बेच्नुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ।

चौधरीका अनुसार केही समयअघिसम्म हप्तामा ४–५ गाडी प्याज बिक्री हुने गरेकोमा अहिले हप्तामा एउटा गाडी बिक्री गर्नसमेत कठिन भइरहेको छ। बजार भाउ घट्दै जाने र लागत मूल्य उच्च रहने अवस्था कायम रहे व्यापारीले ठूलो घाटा व्यहोर्नुपर्ने उनको भनाइ छ।

“प्याजको बजार भाउ प्रतिकेजी ८५ रुपैयाँसम्म गिरावट भइरहेको छ,” चौधरीले भने, “यहाँ आलु ६०–७० बोरा कुहिरहेको छ। प्याजको हालत पनि त्यस्तै भयो भने त बर्बाद हुन्छ। घाटा खाएरै भए पनि बेच्नुपर्ने अवस्था छ।”

प्याजमा देखिएको यो समस्या नेपालकै कृषि उत्पादन र आपूर्तिसँग जोडिएको विषय भएको कृषि उपज बजारका बजार व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन्। उनका अनुसार नेपाल प्याजमा लगभग पूर्ण रूपमा भारतमा निर्भर छ। प्याजसँगै फलफूल र आलुको करिब ९०–९५ प्रतिशत हिस्सा भारत र चीनबाट आउने गरेको छ।

भट्टराईका अनुसार बर्खाको समयमा धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर र खोटाङलगायत पहाडी जिल्लाबाट विभिन्न कृषि उत्पादन धरानको बजारमा आउने गरेका छन्। यहाँ आउने उत्पादन तराईका विभिन्न सहर, काठमाडौँ हुँदै भारतसम्म समेत पुग्ने गरेको उनले बताए।

नेपालको आफ्नै उत्पादन निर्यात हुने भए पनि त्यसमा पनि अनेक चुनौती रहेको भट्टराईको भनाइ छ। विशेषगरी अदुवा नेपालको प्रमुख निर्यातजन्य कृषि वस्तुका रूपमा भारत जाने गरेको छ। कोसी कोरिडोर हुँदै वार्षिक ९ देखि १० हजार मेट्रिक टन अदुवा भारत निर्यात हुने गरेको उनले बताए। हाल थोक बजारमा अदुवाको मूल्य प्रतिकेजी १३० देखि १५० रुपैयाँसम्म रहेकाले किसानका लागि यो राम्रो मूल्य भएको उनको भनाइ छ।

अदुवाबाहेक अलैँची, कुच्चो र तेजपातसमेत ठूलो परिमाणमा भारत निर्यात हुने गरेका छन्। तर, अदुवा तुलनात्मक रूपमा सहजै निर्यात भए पनि अन्य कृषि उत्पादन भारत पठाउँदा भारतीय भन्सारमा झन्झट तथा रोकावट हुने गरेको भट्टराईले बताए।

यता, बजारमा केही नेपाली उत्पादनको मूल्यसमेत आपूर्तिको अवस्थाअनुसार तीव्र रूपमा परिवर्तन भइरहेको छ। एक महिनाअघि प्रतिकेजी २०–३० रुपैयाँ रहेको टमाटरको थोक मूल्य अहिले ५०–६० रुपैयाँ पुगेको छ। एउटा उत्पादनको लट सकिएर अर्को लट बजारमा आउन बाँकी हुँदा टमाटरको मूल्य बढेको बजार व्यवस्थापक भट्टराईले बताए।

नेपाल हरियो तरकारीमा आत्मनिर्भरजस्तो देखिए पनि पछिल्लो समय यसको उत्पादन घट्दो क्रममा रहेको उनको भनाइ छ। सहरीकरण र वैदेशिक रोजगारीका कारण खेती गर्ने किसान तथा कृषि मजदुरको अभाव बढ्दै गएको उनले बताए।

नेपाली कृषि उत्पादनको अर्को ठूलो समस्या उचित छनोट तथा प्याकेजिङको अभावसमेत रहेको भट्टराई बताउँछन्। भारत र चीनबाट आउने कृषि वस्तुहरू राम्रोसँग छनोट तथा प्याकेजिङ गरेर बजारमा आउने भएकाले उत्पादनपछिको क्षति कम हुने गरेको उनको भनाइ छ।

तर, नेपाली उत्पादनमा एउटै बोरामा सानो–ठूलो, राम्रो–नराम्रो तथा कुहिएको उत्पादनसमेत मिसाएर ल्याउने प्रवृत्ति रहेको उनले बताए। विशेषगरी आलुमा यस्तो समस्या देखिने गरेको र यसले व्यापारी तथा उपभोक्ताको आकर्षण घटाउने गरेको उनको भनाइ छ।

कृषि उपज बजारमा विषादी परीक्षणसमेत नियमित रूपमा हुँदै आएको छ। धरान उपमहानगरपालिकासँगको समन्वयमा दैनिक रूपमा कृषि वस्तुको विषादी परीक्षण गरिने भट्टराईले बताए। तर, कतिपय किसान तथा व्यापारीले परीक्षणबाट बच्न थोक बजारमा सामान नल्याई सिधै फुटकर बजारमा लैजाने गरेको समेत पाइएको उनले बताए।

भट्टराईका अनुसार नेपाली कृषि क्षेत्रको समस्या उत्पादनमा मात्र सीमित छैन। उत्पादन बढाउनेसँगै त्यसको गुणस्तर, छनोट, प्याकेजिङ, बजार व्यवस्थापन र निर्यातको वातावरण सुधार गर्नुपर्ने आवश्यकता छ।

विशेषगरी संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुनुपर्ने उनको भनाइ छ। नेपाली कृषि उत्पादनलाई भारतीय बजारसम्म सहज रूपमा पुर्‍याउन निर्यातका अवरोध हटाउने, किसानलाई प्रोत्साहन गर्ने तथा कृषि उत्पादनको छनोट र प्याकेजिङमा सुधार ल्याउनेतर्फ सरकारले ठोस कदम चाल्नुपर्ने उनले बताए।

अहिले धरानको कृषि उपज बजारमा देखिएको प्याजको समस्या यसैको एउटा उदाहरण बनेको छ। भारतमा उत्पादन र मूल्यमा आउने उतारचढावको प्रत्यक्ष असर नेपालमा पर्ने अवस्था अन्त्य गर्न स्वदेशमै कृषि उत्पादन बढाउनु आवश्यक देखिन्छ।

उत्पादन बढाउने, नेपाली कृषि उपजको गुणस्तर र प्याकेजिङ सुधार गर्ने तथा निर्यातका अवरोध हटाउने हो भने किसानले उचित मूल्य पाउने र उपभोक्ताले समेत सुलभ मूल्यमा कृषि उपज पाउने अवस्था बन्न सक्ने बजार व्यवस्थापक भट्टराईको भनाइ छ।

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

खाजा खर्च कटाएर बाढी ...

धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved