खाजा खर्च कटाएर बाढी पीडितका लागि हिबिस्कसका विद्यार्थीले जुटाए ७१ हजार सहयोग

  • भदौ १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको सन्देश दिँदै धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बाढी पीडितका लागि आर्थिक सहयोग संकलन गरेका छन्।

रसुवा, धादिङ र नुवाकोटलगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले विद्यालयको हिबिस्कस बाल क्लबको सक्रियतामा सञ्चालन गरिएको अभियानबाट करिब ७१ हजार रुपैयाँ सहयोग संकलन भएको हो।

विद्यालयमा आयोजित सहयोग संकलन कार्यक्रममा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि विद्यालयका उपप्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा सञ्चारकर्मीले मैनबत्ती प्रज्वलन गर्दै सहयोग अभियानको औपचारिक सुरुवात गरेका थिए।

बाढीका कारण ठूलो जनधनको क्षति भएको र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भइरहेका पीडितका हृदयविदारक दृश्यले आफूहरूलाई समेत भावुक बनाएको भन्दै विद्यालय परिवारले आफ्नो क्षमताअनुसार सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।

अभियानमा विद्यालयका मनास्लु, ब्लु, रेड र ग्रीन हाउसमा आबद्ध विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी सहयोग संकलन बाकसमा जम्मा गरेका थिए। विद्यार्थीहरूबाट मात्रै करिब २० हजार ६ सय ७० रुपैयाँ संकलन भएको हिबिस्कस बाल क्लबका प्रतिनिधिले जानकारी दिए।

विद्यार्थीको सहयोगमा शिक्षक तथा कर्मचारीले पनि साथ दिएका छन्। विद्यालयका शिक्षक तथा कर्मचारीले आफ्नो एक दिनको तलब बराबरको रकम बाढी पीडितका लागि सहयोग गर्ने घोषणा गरेका छन्। शिक्षकहरूको एक दिनको तलबबाट मात्रै करिब २२ हजार ३ सय ७० रुपैयाँ संकलन हुने जनाइएको छ।

त्यस्तै, विद्यालय प्रशासनले संस्थागत रूपमा थप आर्थिक सहयोग गर्ने जनाएको छ। अभियानमा सहभागी धरानका पुराना सञ्चारकर्मी तथा विद्यालयका अभिभावक भोला श्रेष्ठले समेत व्यक्तिगत रूपमा एक हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन्।

विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले सानै उमेरदेखि विद्यार्थीमा सामाजिक चेतना, मानवीय भावना र जिम्मेवारीबोध विकास गराउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको बताए।

“पढाइसँगै समाजप्रति उत्तरदायी बन्न सिकाउनु पनि हाम्रो दायित्व हो,” राईले भने, “विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नुपर्छ भन्ने भावना विद्यार्थीमा विकास गराउन यो अभियान सञ्चालन गरेका हौँ।”

उनले विद्यार्थीहरूले आफ्नै खाजा खर्चबाट रकम बचत गरेर पीडितका लागि सहयोग गर्नु विद्यालयका लागि गर्वको विषय भएको बताए। सानो उमेरमै सामाजिक सेवाप्रति विद्यार्थीले देखाएको सक्रियताले उनीहरूमा सहयोगी भावना र सामाजिक उत्तरदायित्वको विकास हुने उनको भनाइ छ।

विद्यालयका प्रबन्ध निर्देशक राईका अनुसार विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय प्रशासन तथा अन्य सहयोगदाताबाट संकलित रकम जोड्दा कुल सहयोग करिब ७० देखि ७१ हजार रुपैयाँ पुग्नेछ। संकलित रकम केही दिनभित्रै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने  जनाएको छ।

प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारप्रति ऐक्यबद्धता जनाउँदै हिबिस्कसका विद्यार्थीले सुरु गरेको यो अभियानले ‘सहयोगका लागि ठूलो रकम नै चाहिन्छ भन्ने होइन, आफ्नो क्षमताअनुसारको सानो योगदान पनि विपत्तिमा परेकाका लागि महत्वपूर्ण हुन्छ’ भन्ने सन्देश दिएको छ।

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

पुस्तकालय दिवसको अवस ...

विराटनगर/  परोपकार अभियान समूह विराटनगरको आयो ...

गाँजासहित अस्पतालको ...

विराटनगर/ मोरङको विराटनगर महानगरपालिका–१६ दर ...

बीपी प्रतिष्ठानका ती ...

सुनसरी/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved