धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस्या (अस्टियोपोरोसिस) पहिचान तथा उपचारका लागि रोटरी क्लब अफ धरान घोपाले धरानमा निःशुल्क अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार अभियान सञ्चालन गर्ने भएको छ।
‘स्वस्थ हड्डी, स्वस्थ वृद्धावस्था’ भन्ने नारासहित सञ्चालन हुने अभियानमा करिब १ हजार उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको प्रारम्भिक परीक्षण गर्ने लक्ष्य राखिएको छ।
परीक्षणका क्रममा अस्टियोपोरोसिस पहिचान भएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराउने तयारी गरिएको क्लबले जनाएको छ।
बुधबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै क्लबले ६५ वर्ष वा सोभन्दा माथिका महिला तथा ७० वर्ष वा सोभन्दा माथिका पुरुषलाई लक्षित गरी हड्डी परीक्षण गरिने जनाएको हो।
हड्डीको घनत्व परीक्षणका लागि डेक्सिटोमिटर प्रविधि प्रयोग गरिनेछ। उक्त परीक्षण सेवा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध रहेको क्लबले जनाएको छ।
वृद्धावस्थामा देखिने दीर्घकालीन स्वास्थ्य समस्यामध्ये अस्टियोपोरोसिस महत्वपूर्ण समस्या रहेको क्लबले जनाएको छ। हड्डी कमजोर हुँदा सामान्य लडाइँ वा चोटपटकबाट समेत कम्मर, ढाड तथा नाडीको हड्डी भाँचिन सक्ने जोखिम बढ्छ।
यसले दीर्घकालीन दुखाइसँगै अपाङ्गता, परिवारमा निर्भरता र उपचार खर्चसमेत बढाउन सक्ने चिकित्सकीय बुझाइ छ।
अभियानमार्फत ज्येष्ठ नागरिकमा अस्टियोपोरोसिसबारे जनचेतना बढाउने, उच्च जोखिममा रहेका नागरिक पहिचान गर्ने र रोग देखिएका बिरामीलाई उपचारको पहुँचमा ल्याउने उद्देश्य राखिएको छ।
रोटरी क्लब अफ धरान घोपाले यस अभियानलाई धरानमा अस्टियोपोरोसिस रोकथामको पहिलो चरणका रूपमा अघि बढाउने जनाएको छ।
आगामी दिनमा धरान उपमहानगरपालिका, स्वास्थ्य संस्था तथा समुदायसँगको सहकार्यमा कार्यक्रमलाई वार्षिक सार्वजनिक स्वास्थ्य अभियानका रूपमा निरन्तरता दिने लक्ष्यसमेत राखिएको छ।
कार्यक्रम संयोजक अतुल श्रेष्ठ र क्लब अध्यक्ष अलंकार पालिखे रहेका छन्। अभियानले ज्येष्ठ नागरिकलाई स्वस्थ, बलियो र आत्मनिर्भर जीवनयापनमा सहयोग पुग्ने विश्वास क्लबले व्यक्त गरेको छ।